आँधीखोला र कालीगण्डकीमा २ लाख २८ हजार माछाका भुरा छाडियो

voiceofgandaki

स्याङ्जा — कालीगण्डकी ‘ए’ मत्स्य ह्याचरी सेवाले स्याङ्जाको आँधीखोला र कालीगण्डकी ‘ए’ आँधीमुहान ड्याम साइडमा २ लाख २८ हजार माछाका भुरा छाडेको छ ।

प्राकृतिक सन्तुलन कायम राख्न तथा परम्परागत बोटे समुदायको पेसा संरक्षण गर्ने उद्देश्यले हरेक वर्षझैँ यस वर्ष पनि ह्याचरीले नदीमा भुरा छाडेको हो । यस क्रममा गर्दी, हाडे, ढेड, सहर र कत्ले जातका माछाका भुरा छाडिएको छ ।

कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रका प्रमुख आत्मेस पौडेलले प्राकृतिक चक्रलाई सन्तुलित राख्न र समुदायकै जीविकोपार्जन सुरक्षित गर्नका लागि नदीमा माछाका भुरा छाडिएको बताए । नदीमा घट्दै गएको जलचर सङ्ख्या पूर्तिका लागि गरिएको यो अभियानले माछाको उत्पादन वृद्धि गर्ने र माछा मारेरै जीवन निर्वाह गर्दै आएका बोटे तथा माझी समुदायलाई राहत मिल्ने अपेक्षा गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले स्थापना कालदेखि नै मत्स्य ह्याचरी निर्माण गरी भुरा उत्पादन गरेर हरेक वर्ष कालीगण्डकी, आँधीखोला तथा अन्य नदीहरूमा छाड्ने गरेको छ । विभिन्न ठाउँमा बाँध निर्माण हुँदा माछाको आवतजावत रोकिने भएकाले जलचर संरक्षणका लागि वार्षिक रूपमा माछाका भुरा छाड्ने गरिएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया