लेकसिटीमा ‘कार्निभल’ को रौनक: विद्यार्थीले चलाउनेछन् रेस्टुरेन्टदेखि स्टेजसम्म

voiceofgandaki

पोखरा

कक्षाकोठाको पढाइबाट एक दिन विश्राम । हातमा कापी–किताब होइन, डाडु–पन्यु र वाद्यवादन । पोखरा–४ गैहपाटनस्थित लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरको माहोल मंसिर २६ गते यस्तै देखिनेछ । कारण हो– ‘चौथो लेकसिटी कार्निभल’ ।

कलेजले विगतका वर्षझैँ यस पटक पनि भव्य रूपमा कार्निभल आयोजना गर्दै छ । क्याम्पस प्रमुख नारायण श्रेष्ठका अनुसार यस वर्षको मेलालाई अझ व्यवस्थित र आकर्षक बनाउने तयारी गरिएको छ । सांगीतिक प्रस्तुति र स्वादका परिकारले कलेज परिसर गुञ्जयमान हुनेछ ।

विद्यार्थीकै स्टल, विद्यार्थीकै व्यापार
कार्निभलको मुख्य आकर्षण नै विद्यार्थीको प्रत्यक्ष सहभागिता हो । कलेजको खेलमैदानमा राखिने स्टलहरूको सम्पूर्ण व्यवस्थापन वर्तमान र पूर्वविद्यार्थीहरूले गर्नेछन् ।

मेलामा आउने दर्शकले विद्यार्थीले पकाएको सेलरोटी, मम, चाउमिन, चटपट र पानीपुरीको स्वाद लिन पाउनेछन् । त्यति मात्र होइन, मह, अचार, सातु, हस्तकलाका सामग्री, सजावटका सामान र कपडाका झोलाजस्ता स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्री कक्ष पनि रहनेछ ।

लाखेनाचदेखि लाइभ कन्सर्टसम्म
खानपानसँगै मनोरञ्जनका लागि सांस्कृतिक कार्यक्रमको तयारी पनि उत्तिकै छ । इसिए संयोजक अमोदप्रसाद कोइरालाका अनुसार विद्यार्थीको कला र सिर्जनशीलतालाई प्रोत्साहन गर्न मञ्च तयार पारिएको छ ।

‘विद्यार्थीले सांस्कृतिक नृत्य, गायन र लाखेनाच प्रस्तुत गर्नेछन्,’ कोइरालाले भने । साँझपख भने स्थानीय ब्यान्डहरूको ‘लाइभ कन्सर्ट’ ले माहोल तताउने आयोजकले जनाएको छ ।

पढाइसँगै अतिरिक्त सीप
कलेजका सहायक क्याम्पस प्रमुख शोभाकान्त सिग्देलका अनुसार लेकसिटीले शैक्षिक भ्रमण, खेलकुद, रक्तदान, वृक्षरोपणजस्ता सामाजिक कामलाई निरन्तरता दिँदै आएको छ । अझ सामाजिक विज्ञान केन्द्रले सञ्चालन गर्ने मासिक ‘कचहरी’ कार्यक्रम त कलेजको मौलिक पहिचान नै बनेको छ ।

विसं २०६४ मा स्थापित त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त यस कलेजमा बिबिएस, बिएएसडब्लु (सामाजिक कार्य) र बिए (समाजशास्त्र, पत्रकारिता, अंग्रेजी साहित्य) को पढाइ हुन्छ । हाल कलेजमा ३ सय ५० भन्दा बढी विद्यार्थी छन् । कार्निभललाई विभिन्न व्यक्ति तथा संस्थाहरूले प्रायोजन र सहयोग गरेका छन् ।

प्रतिक्रिया