पोखरा । गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटा विश्वका उत्कृष्ट ३ प्रतिशत पहिरो वैज्ञानिक (ल्यान्डस्लाइड साइन्टिस्ट) को सूचीमा परेका छन्। अमेरिकास्थित ‘स्कलर जिपिएस’ ले सन् २०२५ का लागि सार्वजनिक गरेको वरीयतामा उनी उत्कृष्ट स्थानमा समेटिएका हुन्।
त्रिभुवन विश्वविद्यालयसँग आबद्ध रहेर भूगर्भ र विपद्का क्षेत्रमा अनुसन्धान गर्दै आएका देवकोटाले बुधबार सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन्।
स्कलर जिपिएसको तथ्यांकअनुसार पहिरो (ल्यान्डस्लाइड) विधामा विश्वभरका ३३ हजार १८० वैज्ञानिकको सूची तयार पारिएको थियो। जसमा देवकोटा ९७६ औं स्थानमा पर्न सफल भएका छन्। यो समग्र सूचीको शीर्ष २.९४ प्रतिशत हो।
प्रतिवेदनअनुसार देवकोटाको अनुसन्धानको प्रभाव (इम्प्याक्ट) शीर्ष १.५९ प्रतिशत र उत्पादकत्व (प्रोडक्टिभिटी) शीर्ष ३.८२ प्रतिशतभित्र रहेको छ। समग्रमा सबै विधा जोड्दा उनी विश्वका शीर्ष ७.८४ प्रतिशत वैज्ञानिकभित्र परेका छन्।
देवकोटाले यो उपलब्धि लामो समयको प्राज्ञिक लगनशीलता र अनुसन्धानको नतिजा भएको बताएका छन्। ‘पहिरो प्रक्रिया, जोखिम मूल्यांकन र भू–प्रकोप अध्ययनमा गरेको निरन्तरको अनुसन्धानले यो स्थान दिलाएको छ,’ उनले भने, ‘सहकर्मी, गुरुवर्ग र संस्थाहरूको सहयोगप्रति आभारी छु।’
हाल गण्डकी प्रदेशको नीति तथा योजना आयोगको नेतृत्व गरिरहेका उनले आफ्नो वैज्ञानिक ज्ञानलाई नीति निर्माणमा प्रयोग गर्ने बताए। वैज्ञानिक प्रमाण र भू–प्रकोप अनुसन्धानलाई प्रदेशको नीति निर्माण र विकास योजनामा एकीकृत गर्ने आफ्नो प्रयास रहने उनले उल्लेख गरेका छन्।
१६ पुस २०८२, बुधबार ०७:०१ मा प्रकाशित