पोखरामा प्रदेश प्रहरी अस्पतालको नवनिर्मित भवन उद्घाटन: विशेषज्ञ सेवा विस्तारमा जोड

voiceofgandaki

पोखरा ।


पोखरामा गण्डकी प्रदेश प्रहरी अस्पतालको नवनिर्मित भवन उद्घाटन भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार एक समारोहबीच सो भवनको उद्घाटन गरे । उनले नवनिर्मित भवनको अवलोकन समेत गरे । सो अवसरमा उनले भवन निर्माणमा सहयोग गर्ने विभिन्न व्यक्तित्वहरूलाई प्रशंसापत्र प्रदान गरे ।


कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउनु नै प्रदेश सरकारको पहिलो प्राथमिकता भएको बताए । उनले भने, 'सबैको सद्भाव र सहयोगले भौतिक पूर्वाधार निर्माण सम्पन्न भएका छन् । यी संरचनाको प्रयोग गरी नेपाल प्रहरीले जनतालाई अहोरात्र सुरक्षा दिनेछ ।' यसबाट प्रहरी संगठनको सीप, क्षमता र दक्षता थप सुदृढ हुनेमा उनी विश्वस्त देखिए । उनले भवनसँगै अस्पतालमा विशेषज्ञ सेवा विस्तारका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।


पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अस्पतालको स्रोत साधन विकासमा महानगरले सहयोग गर्दै आएको बताए । उनले यो सहयोग आगामी दिनमा पनि निरन्तर रहने जानकारी दिए । कार्यक्रममा पश्चिम पृतना हेडक्वाटर विजयपुरका प्रमुख भोलानाथ थापा र आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव ऋषिराम आचार्यको उपस्थिति थियो । त्यस्तै नेपाल प्रहरी अस्पताल महाराजगन्जका प्रमुख प्राविधिक एआइजी डा सुन्दरप्रसाद ह्योजु पनि विशेष अतिथिका रूपमा सहभागी थिए ।


समारोहमा गण्डकी प्रदेश प्रहरी अस्पतालका प्रमुख प्राविधिक एसएसपी अभिमन्यु श्रेष्ठले स्वागत मन्तव्य राखे । गण्डकी प्रदेश प्रहरी कार्यालयका प्राविधिक डिएसपी इन्जिनियर चिरञ्जिवीप्रताप महतोले भवन निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गरे ।


कार्यक्रमको अन्त्यमा गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी दीपेन्द्र जिसीले धन्यवाद ज्ञापन गरे । उनले निर्माण कार्यमा सहयोग गर्ने सबैलाई प्रहरीले सधैं स्मरण गर्ने बताए । जिसीले भने, 'विषम परिस्थितिमा पनि विचलित नभई अपराध अनुसन्धान र नियन्त्रणमा खटिनेछौं ।' उनले मानवीय उद्धारका क्षेत्रमा नवीन प्रविधि र प्रक्रियाको समुचित प्रयोग गर्ने गरी क्षमता विकासमा जोड दिने प्रतिबद्धता व्यक्त गरे ।


प्रतिक्रिया