पोखरामा प्रचण्ड कप भलिबलको तयारी पूरा

voiceofgandaki

पोखरा ।  

नेसनल स्पोट्र्स एकेडेमीले पोखरामा प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०८२ गर्न लागेको छ । अखिल नेपाल खेलकुद महासंघको सहआयोजनामा जेठ २७ देखि ३१ गतेसम्म हुने प्रतियोगिताको तयारी पूरा भएको एकेडेमीका अध्यक्ष दीपक कोइरालाले जानकारी दिए ।

प्रतियोगिता पोखरा रंगशाला स्थित बहुउद्देश्यीय कभर्ड हलमा हुनेछ ।  प्रतियोगितामा राष्ट्रिय स्तरका ६ प्रमुख महिला टिमको सहभागिता रहनेछ । प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल, गण्डकी प्रदेश, न्यु डायमन्ड युथ स्पोट्र्स क्लब र एभरेस्ट भलिबल क्लबको सहभागिता रहने अध्यक्ष कोइरालाले बताए । 

नेपाल आर्मी क्लबले अन्तिम अवस्थामा सहभागी नहुने जानकारी गराएपछि नयाँ टोली स्टेप रामपुरले अवसर पाएको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मंगलबार प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन खेलमा गण्डकी प्रदेश, न्यु डायमन्ड युथ स्पोट्र्स क्लबले प्रतिस्पर्धा गर्ने छन् । 

प्रतियोगिता राउन्ड रोबिन लिगका आधारमा खेलाइनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले ६ लाख, उपविजेताले ३ लाख र तेस्रो हुने टिमले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने नेसनल स्पोट्र्स एकेडेमीका अध्यक्ष कोइरालाले जानकारी दिए । सर्वोत्कृष्ट खेलाडीलाई ३० हजार र विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही २० हजार प्रदान गरिनेछ । 

सहभागी टिमले ३ जना विदेशी खेलाडी समावेश गर्न पाउने व्यवस्था छ । ‘नेपालको राष्ट्रिय खेल भलिबलको विकास र व्यावसायिक उचाइमा पु¥याउने उद्देश्यले प्रचण्ड कप सुरु गरेका हौं,’ कोइरालाले भने, ‘प्रतियोगिता महिला भलिबल खेलाडीको क्षमताको पहिचान र प्रवद्र्धनमा एक कोसेढुंगा बन्ने विश्वास लिएका छौं ।’ 

उनले आगामी वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता गर्दै फागुनसम्म पुरूष भलिबल प्रतियोगिता आयोजना गर्ने उल्लेख गरे । उनले उद्घाटनको कार्यक्रममा सहभागी हुने सर्वसाधारणका लागि निशुल्क प्रवेशको व्यवस्था मिलाएको बताए । उद्घाटन बाहेकका लिग चरणका खेल हेर्न २ सय र फाइनल खेल हेर्न ४ सय रुपैयाँ टिकटको व्यवस्था गरिएको छ । 


प्रतिक्रिया