पोखरामा सडक सुरक्षासम्बन्धी युवा कार्यशाला सम्पन्न

voiceofgandaki

पोखरा

पोखराका युवाहरूमाझ सडक सुरक्षासम्बन्धी दुई दिने कार्यशाला सम्पन्न भएको छ । ‘क्यापासिटी बिल्डिङ वर्कशप अन युथ फर रोड सेफ्टी’ नामक कार्यशाला गत शुक्रबार र शनिबार सम्पन्न भएको हो ।

युथ फर रोड सेफ्टी इन नेपाल अभियानको संयोजन र गण्डकी अटोमोबाइल्स एसोसिएसनको आयोजनामा भएको कार्यशालामा इन्जिनियरिङ, पर्यटन, स्पोर्ट्स र कानुन लगायतका क्षेत्रमा संलग्न ५० भन्दा बढी युवा सहभागी थिए । कार्यशालाको मुख्य उद्देश्य युवाहरूलाई सडक सुरक्षाको वकालत गर्न, कार्ययोजना बनाउन र अभियानको लक्ष्य निर्धारण गर्न सक्षम बनाउनु रहेको थियो ।

गण्डकी अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष शिव श्रेष्ठले यस्ता जानकारीमूलक कार्यक्रम आगामी दिनमा विभिन्न शैक्षिक संस्थामा पनि गर्ने योजना रहेको बताए । उनले यस प्रकारका कार्यक्रमबाट युवाहरू सडक सुरक्षाबारे आवश्यक कार्य गर्न सक्षम हुने अपेक्षा रहेको उल्लेख गरे ।

कार्यशालामा गण्डकी विश्वविद्यालयका सहायक प्राध्यापक सोनाम लामा, मोटर स्पोर्ट्सको विश्वव्यापी संस्था एफआईए वर्ल्ड काउन्सिलका सदस्य गोविन्द भट्टराई तथा नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा), मार्सल तथा ट्रेनिङ कमिसनका सचिव आशीष रौनियार लगायतले प्रशिक्षण दिएका थिए । युथ फर रोड सेफ्टी इन नेपालका संयोजक किरण धितालले कार्यशाला सञ्चालन गर्दै 'माई एड्भोकेसी वर्क प्लान' विषयमा प्रस्तुति दिएका थिए ।

कार्यशालामा सहभागीहरूलाई १० समूहमा विभाजन गरी समूहगत प्रस्तुति गराइएको थियो, जसमा गण्डकी विश्वविद्यालयको ‘पिलर ५’ टिमले उत्कृष्ट प्रस्तुति दिँदै पुरस्कार जित्यो । सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो । गण्डकी विश्वविद्यालयका सहायक प्राध्यापक लामाले साहसिक र पर्यटकीय खेलकुदको सम्भावना भएको गण्डकी प्रदेशमा मोटर स्पोर्ट्सबारे जानकारी पाउनु उपलब्धिमूलक भएको बताए ।

कार्यशालामा सहभागी स्पोर्ट्स म्यानेजमेन्टका विद्यार्थी ज्ञानेन्द्र थापा, पश्चिमाञ्चल क्याम्पसका विद्यार्थी विनय कुमार साह र गण्डकी विश्वविद्यालयमा कानुनकी विद्यार्थी मनिषा काफ्लेले कार्यशाला निकै प्रभावकारी भएको र यसले सडक सुरक्षाका क्षेत्रमा काम गर्न सहयोगी बन्ने बताए ।

सन् २०१२ मा एफआईएका तत्कालीन अध्यक्ष जन टोडको नेपाल भ्रमणमा सुरु भएको ‘युथ फर रोड सेफ्टी इन नेपाल’ एक राष्ट्रव्यापी युवा अभियान हो । यसले मोटरिङ नेपाल तथा नासा नेपालसँगको सहकार्यमा सडक सुरक्षा, सुरक्षित बालबालिका, नेतृत्व विकास र खेलकुद लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

प्रतिक्रिया