लेखनाथ । पुसको चिसो मौसम, तर कास्कीको लेखनाथमा भने माहोल तातिएको छ । विगत ७ दिनदेखि यहाँ केवल गीत–संगीतको रौनक मात्र छैन, व्यापारको उत्तिकै चहलपहल छ । २१औँ संस्करणको लेखनाथ महोत्सव अहिले उत्पादक र उपभोक्ताको संगम स्थल बनेको छ ।
महोत्सवमा रमाइलो गर्न आएका दर्शक खाली हात फर्किँदैनन् । स्वदेशीदेखि विदेशी सामान सुपथ मूल्यमा पाइने भएपछि महोत्सव स्थल व्यापारिक केन्द्रबिन्दु (हटस्पट) मा परिणत भएको हो ।
किनमेलको आकर्षण
महोत्सवमा गाडीदेखि गार्मेन्टसम्म र माछादेखि महसम्मका सामग्री एउटै छानामुनि उपलब्ध छन् । ३३६ वटा फरक–फरक प्रकृतिका स्टलमा दैनिक उपभोग्य वस्तुदेखि विलासिताका सामानसम्म राखिएका छन् ।
‘महोत्सवमा रमाइलो पनि हुने, घरलाई चाहिने सामान पनि सस्तोमा पाइने,’ स्टलहरू डुल्दै गरेका उपभोक्ताहरू भन्छन्, ‘खोजेको र रोजेको सामान उत्पादकबाटै सिधै किन्न पाउँदा खुसी लागेको छ ।’
आयोजक लेखनाथ उद्योग वाणिज्य संघका कोषाध्यक्ष हरि वस्ताकोटीका अनुसार दर्शकहरू घर फर्कंदा केही न केही सामग्री लिएरै जाने गरेका छन् । ‘अघिल्ला दिनको तुलनामा व्यापारको ग्राफ उकालो लागेको छ,’ उनी भन्छन्, ‘दर्शकको चापसँगै कारोबार बढ्दा व्यापारीहरू पनि उत्साहित छन् ।’
महोत्सवमा स्वदेशमै उत्पादित वस्तुको बिक्री केन्द्र राखिएकाले उपभोक्ताले बिचौलियाबिना सिधै उत्पादकसँग सामान किन्न पाएका छन् । यसले गर्दा बजार मूल्यभन्दा सस्तोमा सामान पाइने गरेको आयोजकको दाबी छ ।
करोडौँको कारोबार
महोत्सवको सातौँ दिनसम्म आइपुग्दा दर्शक र कारोबार दुवै उत्साहजनक देखिएको छ । प्रचारप्रसार उपसमितिका संयोजक ध्रुवबाबु भट्टराईका अनुसार बुधबार मात्रै ६० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार भयो । महोत्सव सुरु भएयता हालसम्म ६ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भइसकेको स्टलहरूको सर्वेक्षणले देखाएको छ ।
दर्शकको उपस्थितिको हिसाबले पनि महोत्सव सफल देखिएको छ । बुधबार १७ हजार दर्शकले मेला अवलोकन गरे । अहिलेसम्म १ लाख ९० हजार दर्शकले महोत्सवको अवलोकन गरिसकेका छन् । मौसमले साथ दिएकाले मध्यान्हपछि दर्शकको चाप थेग्नै नसकिने गरी बढ्ने गरेको छ ।
सांगीतिक माहोल
व्यापारसँगै मनोरञ्जन महोत्सवको अर्को आकर्षण हो । बुधबार चर्चित लोकदोहोरी गायक रामजी खाँड, कृष्ण सुवेदी, जगत पौडेल, पार्वती जिसी, रिया/रतिमाया खड्का र विन्दा परियारले दर्शकलाई नचाए । साँझको कन्सर्टमा गायक अर्जुन सापकोटा र सहिमा श्रेष्ठलगायत स्थानीय कलाकारको प्रस्तुतिले जाडोमा पनि लेखनाथको माहोल ततायो ।
संघका पूर्वअध्यक्ष छत्रधर आत्रेय लेखनाथ महोत्सव गण्डकी प्रदेशकै नमुना र ऐतिहासिक महोत्सवका रूपमा स्थापित भएको बताउँछन् । पुस १४ गतेसम्म चल्ने महोत्सवमा अन्तिम दिनतिर दर्शकको चाप अझै बढ्ने आयोजकको अपेक्षा छ ।
९ पुस २०८२, बुधबार ०८:०८ मा प्रकाशित