पोखरा । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान पोखराको आयोजना तथा नेपाल पुस्तकालय संघ गण्डकी प्रदेशको संयोजनमा सञ्चालित पुस्तकालय व्यवस्थापन तालिम सम्पन्न भएको छ ।
पोखराको नयाँबजारस्थित पोखरा सार्वजनिक पुस्तकालयको सभाहलमा भएको तालिममा प्रदेशभित्रका सरकारी तता सामुदायिकका साथै शैक्षिक संस्थाका पुस्तकालयका ३० जनाको सहभागिता थियो । तालिममा पोखरा विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, गण्डकी बहुप्राविधिक शिक्षालय, पश्चिमान्चल क्याम्पस, धवलागिरि बहुमुखी क्याम्पस लगायतका प्रतिनिधि सहभागी थिए ।
तालिमको समापन समारोहमा गण्डकी विश्वविद्यालयका कुलपति प्राडा इन्द्रप्रसाद तिवारीले सहभागीलाई प्रमाणपत्र वितरण गरे । उनले आगामी दिनमा यस्ता कार्यक्रममा विश्वविद्यालयले सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै सिकेको सीपलाई वृत्ति विकास र व्यक्तित्व विकासमा प्रयोग गर्न सुझाव दिए ।
यसअघि प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीले तालिमको उद्घाटन गरेका थिए । सो अवसरमा पोखरा सार्वजनिक पुस्तकालयका अध्यक्ष अर्जुन श्रेष्ठले पुस्तकालयको संरक्षण र प्रवर्द्धन सबैको दायित्व भएको बताए । त्यस्तै, पोखरा विश्वविद्यालयका सहप्राध्यापक डा. रबिन्द्र घिमिरेले तालिमले दैनिक कार्यसम्पादनलाई छिटो र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
तालिममा डा. रबिन्द्र घिमिरे, वन विज्ञान अध्ययन संस्थानका लाइब्रेरियन सूर्य क्षेत्री, नेपाल पुस्तकालय संघका अध्यक्ष मीनकुमारी डल्लाकोटी, पोखरा विश्वविद्यालयका लाइब्रेरियन दुर्गाप्रसाद आचार्य र पृथ्वीनारायण क्याम्पसका लाइब्रेरियन किशोर सुवेदीले सहजीकरण गरेका थिए । तालिमको संयोजन प्रतिष्ठानका कर्मचारी सुवर्ण आचार्य र संघका सचिव भुवन ढकालले गरेका थिए ।
२८ मङ्सिर २०८२, शनिवार ०९:३९ मा प्रकाशित