बुटवल ।
‘जाऊँ है पोखरा’ अभियानअन्तर्गत शुक्रबार रुपन्देहीको बुटवलमा आयोजित कार्यक्रममा दुई क्षेत्रका व्यवसायीले साझा मुद्दामा एकजुट भई अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उचित सञ्चालनका लागि सरकारलाई संयुक्त दबाब दिनुपर्नेमा जोड दिइयो । पोखरा र बुटवलका व्यवसायीले पर्यटनका विषयमा सहकार्य गरी अगाडि बढ्नुपर्ने कुरामा पनि कार्यक्रममा जोड दिइएको थियो ।
होटल संघ पोखरा नेपालले पश्चिम नेपालका मुख्य सहरहरूलाई लक्षित गरी सञ्चालन गरेको ‘जाउँ है पोखरा’ अभियानअन्तर्गत शुक्रबार बुटवलमा आयोजित कार्यक्रममा व्यवसायी र सञ्चारकर्मीले विचार, जिज्ञासा र सुझाव राखेका थिए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले पर्यटकलाई लक्षित गरी कास्कीमा रहँदा लेकसाइडलाई २४ घण्टा खुला राख्ने पहल भएको स्मरण गरे । लुम्बिनीको आध्यात्मिक पर्यटनलाई पोखराको प्रकृति, संस्कृति र साहसिक पर्यटनसँग जोड्नुपर्ने सुझाव उनले दिए ।
आन्तरिक पर्यटन प्रवद्र्धन अभियानको मुख्य लक्ष्य रहेको संघका अध्यक्ष तथा अभियान संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । दुई दशकअघि देशमा १० वर्षे द्वन्द्व चलिरहँदा सुरु भएको यो अभियान गत चैतमा पूर्वी नेपालमा सम्पन्न भएको थियो । विदेशीमात्र नभई स्वदेशी पनि पर्यटक हुन सक्छन् भन्ने मान्यताअनुसार पर्यटनमार्फत सातै प्रदेश जोड्ने उद्देश्यले अभियान सञ्चालन गरिएको अध्यक्ष सुवेदीले बताए । होटल संघ पोखरा नेपाल सल्लाहकार परिषद्का अध्यक्ष तथा हानका केन्द्रीय सदस्य भरतराज पराजुलीले पर्यटनका लागि पहुँच अर्थात् पहुँच्यता (एक्सेसिबिलिटी) महत्वपूर्ण हुने बताए । पोखरा विमानस्थलको उचित सञ्चालनमा सरकार गम्भीर हुनुपर्ने उनको भनाइ थियो ।
उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकीको प्रवद्र्धनमा यो अभियान सञ्चालन भएको हो । पश्चिम नेपालबाट पर्यटकलाई पोखरा भ्रमणका लागि निमन्त्रणा गर्ने र पोखराबाट पनि पश्चिम नेपालमा पर्यटक ल्याउने अभियानको अर्को उद्देश्य हो । पोखरा महानगरपालिकाले घोषणा गरेको ‘पोखरा भ्रमण वर्ष २०२५’ लाई सफल बनाउन पनि यो अभियान सार्थक हुने संघको विश्वास छ । बिहीबारदेखि सुरु भई असार २ गते सम्पन्न हुने यो अभियान नेपालगञ्ज, सुर्खेत र दाङको घोराहीमा पनि सञ्चालन हुनेछ । यसअघि, पाल्पाको श्रीनगरमा बिहीबार आयोजित कार्यक्रममा अभियानको टोलीलाई स्वागत गर्दै पाल्पाले पोखराबाट धेरै कुरा सिक्न बाँकी रहेको स्थानीय व्यवसायीले बताएका थिए । पाल्पा होटल संघ नेपाल र पाल्पा नगरपालिका टुरिजम एक्सन कमिटी (ट्याक्ट) ले यो कार्यक्रम आयोजना गरेका थिए । पाल्पा होटल संघका अध्यक्ष जयन्त भुसालले पोखरा र पाल्पाले पर्यटन प्रवद्र्धनका गतिविधिमा सहकार्य गरी अगाडि बढ्नुपर्ने बताए ।
होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले आन्तरिक र भारतीय पर्यटकले पोखराको पर्यटन धान्न सकेको भन्दै पाल्पालाई पर्यटनमा अगाडि बढाउन पोखराको साथ रहने विश्वास दिलाए । कार्यक्रममा ट्याक्टका संयोजक तथा तानसेन–६ का वडाध्यक्ष सागरमान महर्जन र पाल्पा होटल संघका उपाध्यक्ष लक्ष्मण बस्नेतले पनि आ–आफ्ना भनाइ राखेका थिए ।