पोखरा, २३ वैशाख । पोखरा गण्डकी प्रदेश फुटबल संघको आयोजनामा आगामी असारको अन्तिम साता गण्डकी कप महिला फुटबल प्रतियोगिता हुने भएको छ । गण्डकी प्रदेशमा पहिलो पटक राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले समेत मिति दिएको छ ।
एन्फाले मंगलबार गण्डकी प्रदेश फुटबल संघको नाममा पत्र काट्दै असार २८ देखि साउन ३ गतेसम्म प्रतियोगिता सञ्चालन गर्न मिति दिएको हो । एन्फाको स्वीकृतिसँगै गण्डकी प्रदेश फुटबल संघले प्रतियोगिताको तयारीसमेत थालेको छ । उक्त प्रतियोगितामा ८ टिमको सहभागिता गराउने संघका महासचिव विनोद गुरुङले जानकारी दिए ।
विभागीय क्लब त्रिभुवन आर्मी र एपिएफ क्लबले सहभागिता जनाउने भइसकेका छन् । ‘एन्फाले डेट दिएपछि हामीले अब तयारी थालेका छौं । सोही मितिमा हामीले प्रतियोगिताको आयोजना गर्नेछौं’, उनले भने, ‘हामीले ८ टिमको मात्र सहभागिता गराउने तयारीमा छौं । यसका लागि आर्मी र एपिएफ आउने पक्का भएको छ भने गण्डकीको पनि टिम रहनेछ ।’ पोखरामा महिला फुटबलको गतिविधि नै न्यून छ ।
संघले महिला फुटबललाई प्राथमिकतामा राखेर महिला गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्न लागेको उनले सुनाए । जुन गण्डकी प्रदेशकै इतिहासमा पहिलो पटक हुनेछ । महासचिव गुरुङले दीर्घकालीन सोच राखेर अब महिला फुटबलको विकासका लागि संघले पहिलो कदम चालेको सुनाए । संघले प्रदेशभित्र यस अघि प्रतियोगिताको आयोजना नगरेपनि विभिन्न खेलाडी, प्रशिक्षक तथा रेफ्री विकासका लागि तालिम, गोष्ठि तथा कोर्ष सञ्चालन गर्दै आएको छ ।
‘हामीले महिला फुटबलको विकास गर्ने उद्देश्यका साथ पहिलो पटक महिला फुटबलको आयोजना गर्दै छौं । यसका लागि आवश्यक तयारीमा हामी जुटिरहेका छौं । अब त एन्फाले समेत डेट दिइसकेको छ’, उनले भने, ‘यो गण्डकी प्रदेशकै प्रतिष्ठित प्रतियोगिता हुनेमा आशावादी छौं । हामीलाई महिला फुटबलको विकासमा लागेन भनेर धेरै गुनासो पनि आउने गरेको सत्य हो र त्यहाँ कहि न कहि हामी चुकेकै थियौं तर, हामी संगपनि बजेट छैन सबै सहयोगकै भरमा सञ्चालन गर्नुपर्ने बाध्यता छ तर, यसपटक हामीले यो काम आटेका छौं ।’
गण्डकीमा महिला फुटबलको गतिविधि भएमा अहिलेका चर्चित विभागीय टिमलाई समेत टक्कर दिने बलियो टिम बन्नेछ । महिला फुटबललाई अघि बढाउनकै लागि बागमती गोल्डकपमा टिम लिएर गएको सुनाउँदै उनले गण्डकीका महिला खेलाडीलाई निरन्तर प्रशिक्षण दिन सकेमा अबका केही वर्षपछि उत्कृष्ट टिम बन्ने सुनाए । ‘हामीले बागमतिमा भएको गोल्डकपका लागि टिम छनोट गर्दा खेलाडीको उपस्थिति पनि राम्रो थियो । त्यहाँ निकै राम्रो खेल खेल्ने खेलाडीको पनि सहभागिता थियो । उनीहरुलाई निरन्तर प्रशिक्षण दिन सकेमा गण्डकीको महिला फुटबलले गति लिनेछ’, उनले भने ।