वडाध्यक्षको पहल र क्लब अध्यक्षको सक्रियताले लालीगुराँस एशोसिएसन राष्ट्रिय लिगमा, वडा नम्बर १२ मा उत्साह
voiceofgandaki
२७ कार्तिक २०८२, बुधबार
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १२ मा युवा र समुदायबीचको एकताले मूर्तरुप लिएको छ। वडाध्यक्ष सन्तोष बास्तोला निर्वाचित भएपछि खेलकुद र सामुदायिक विकासमा युवाहरूको सक्रियता बढेको स्थानीयले बताएका छन्। वडा कार्यालयले युवाहरूलाई सकारात्मक बाटोमा डोऱ्याउन र समुदायको विकासमा जोड्न निरन्तर सहयोग गरिरहेको छ।
यसै क्रममा लालीगुराँस एशोसिएसन नेपालले अध्यक्ष डमरजङ गुरुङको नेतृत्वमा पछिल्ला वर्षहरूमा उल्लेख्य प्रगति गरेको छ। क्लबले खेलकुद, सामाजिक सेवा र सांस्कृतिक क्षेत्रमा सक्रिय भूमिका निभाउँदै आएको छ। क्लब अध्यक्ष गुरुङले वडाको सहयोगले लालीगुराँस क्लब वडाभित्र मात्रै होइन, पोखराकै लागि एउटा उदाहरणीय संस्था बनेको बताएका छन्।
वडाध्यक्ष बास्तोलाले युवा, खेलकुद र सांस्कृतिक क्षेत्रमा आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्। उनले वडालाई सक्रिय र आत्मनिर्भर बनाउने लक्ष्य राखेको बताए।
यसैबीच, हेटौंडाको गौरीटार रंगशालामा जारी एन्फा प्रेसिडेन्ट लिगमा पोखराको लालीगुराँस एशोसिएसन क्लबले मंगलबारको महत्वपूर्ण खेल जितेको छ। यो जितसँगै क्लब राष्ट्रिय लिगमा छनोट हुने पहिलो टोली बनेको छ।
मंसिर २ सम्म सञ्चालन हुने लिगमा १० टोली सहभागी छन्। सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। सेमिफाइनलमा पुग्ने टोलीहरूले आगामी पुसमा हुने राष्ट्रिय लिगमा सहभागिता जनाउनेछन्। लिगको विजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ।