त्रिविको ५१औँ दीक्षान्त समारोह आज : नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि

voiceofgandaki

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज (बिहीबार) ५१औँ दीक्षान्त समारोह आयोजना गर्दै छ । विश्वविद्यालयको इतिहासमा पहिलोपटक नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथि बनाएर दीक्षान्त समारोह गर्न लागिएको हो ।

समारोहमा सन् २०१५ का भौतिकशास्त्रतर्फका नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । उनी टोकियो विश्वविद्यालयमा आबद्ध छन् ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालले समारोहको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । मण्डप निर्माण, दीक्षित विद्यार्थी र अभिभावक बस्ने व्यवस्थापनलगायतका सबै काम सम्पन्न भइसकेको उनले बताए ।

यसपटक त्रिविका १६ हजार ३८० जना विद्यार्थी दीक्षित हुँदै छन् । समारोहमा विद्यार्थी र अभिभावकसहित करिब ४१ हजार जनाको सहभागिता रहने अनुमान गरिएको छ ।

विश्वविद्यालयबाट यस वर्ष स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तह गरी कुल ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका छन् । तीमध्ये दीक्षान्तका लागि १६ हजार ३८० जनाले आवेदन दिएका हुन् ।

समारोहमा विभिन्न संकाय तथा तहमा उत्कृष्ट नतिजा ल्याउने २५ जना विद्यार्थीलाई पदक प्रदान गरिनेछ । जसमा ११ छात्रा र १४ छात्र छन् । त्रिविबाट यसपटक व्यवस्थापन संकायमा सबैभन्दा बढी ४३ हजार ६१० जना उत्तीर्ण भएका छन् । त्यस्तै, शिक्षाशास्त्रतर्फ १६ हजार ४६७, मानविकीमा १४ हजार ८५१ र कानुन संकायमा २ हजार ३३५ जना विद्यार्थी उत्तीर्ण भएको जनाइएको छ ।

प्रतिक्रिया