स्याङ्जा– जीर्ण बनेको सिद्धार्थ राजमार्गको राम्दी–कुभिण्डे सडक खण्ड मर्मत सम्भारका लागि सरोकारवालाबीच चारबुँदे लिखित प्रतिबद्धता भएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय स्याङ्जामा भएको छलफलमा सडक डिभिजन कार्यालय पोखराले दुई महिनाभित्र सडकका खाल्डाखुल्डी पुर्ने जिम्मा लिएको हो ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालको संयोजकत्वमा सडक डिभिजन पोखराका प्रमुख अमितकुमार शर्मा र जिल्लाका नागरिक अगुवाहरूबीच भएको बैठकले तत्काल काम सुरु गर्ने निर्णय गरेको छ । सडकको दुरावस्थाका कारण यात्रुले सास्ती पाएको र दुर्घटनाको जोखिम बढेको भन्दै चौतर्फी आलोचना भएपछि प्रशासनको पहलमा प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको हो ।
दुई महिनाभित्र खाल्डाखुल्डी पुर्निने
प्रतिबद्धता पत्रको दोस्रो बुँदामा कुभिण्डेदेखि राम्दीसम्मको सडकमा रहेका ‘पोटहोल’ (खाल्डाखुल्डी) मा कालोपत्र गर्ने काम कानुनबमोजिम तत्काल सुरु गर्ने उल्लेख छ । यो काम दुई महिनाभित्र सम्पन्न गर्ने गरी सडक डिभिजन पोखराले काम अगाडि बढाउने सहमति भएको छ । यसका लागि आवश्यक बजेट व्यवस्थापन गर्न रकमान्तर लगायतका प्रक्रिया तत्काल थालिने सडक डिभिजन प्रमुख शर्माले बताए ।
स्याङ्जामै आयोजना कार्यालय
सडक मर्मत तथा स्तरोन्नतिका लागि स्याङ्जा सदरमुकाम पुतलीबजारमै ‘सिद्धार्थ राजमार्ग स्तरोन्नति आयोजना’ को कार्यालय स्थापना गरिने भएको छ । हाल पोखराबाट काम हुँदा ढिलासुस्ती भएको गुनासो आएपछि स्याङ्जामै कार्यालय राख्न सडक डिभिजनले आवश्यक स्रोत साधन व्यवस्थापनका लागि पहल गर्ने सहमति भएको छ ।
कालोपत्रे ‘ओभरले’ को प्रक्रिया सुरु
यस्तै, कुभिण्डेदेखि राम्दीसम्मको सडकमा ‘ओभरले’ (पुरानो सडकमाथि थप कालोपत्रे) गर्ने प्रक्रिया पनि तत्काल अगाडि बढाइने भएको छ । यसका लागि सडक डिभिजन कार्यालय पोखराले स्रोत सहमतिको काम तत्काल थाल्ने र सहमति प्राप्त हुनासाथ ठेक्का प्रक्रिया सुरु गर्ने प्रतिबद्धता जनाएको छ ।
यी तीनवटै बुँदाको प्रगति विवरण नियमित रूपमा स्याङ्जाका प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउनुपर्ने निर्णयसमेत भएको छ । प्रतिबद्धता पत्रमा सडक डिभिजन प्रमुख शर्माले रोहवरमा रहेका नागरिक अगुवाहरूकै अगाडि हस्ताक्षर गरेका हुन् ।

२५ मङ्सिर २०८२, बुधबार ०६:०९ मा प्रकाशित