पोखरामा १ हजार साइकल यात्री गुड्दै : ‘आठौँ टुर दि पोखरा’ पुस ५ मा

voiceofgandaki

पोखरा । स्वास्थ्य, वातावरण र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटकीय नगरी पोखरामा ‘आठौँ टुर दि पोखरा’ आयोजना हुने भएको छ । ‘स्वास्थ्य, वातावरण र पर्यटनका लागि साइकल यात्रा’ भन्ने मूल नाराका साथ आगामी पुस ५ गते शनिबार उक्त कार्यक्रम हुन लागेको हो ।

पोखरा महानगरपालिकाले अघि सारेको ‘स्वच्छ सहर, हरित सहर’ को अवधारणालाई आत्मसात् गर्दै आयोजना गर्न लागिएको र्‍यालीमा १ हजारभन्दा बढी साइकल यात्री सहभागी हुने आयोजकको अनुमान छ । ५१ किलोमिटर दूरीको यो यात्रामा सहभागीले पोखराका मुख्य सहरी क्षेत्र र पर्यटकीय गन्तव्यहरूको परिक्रमा गर्नेछन् ।

कार्यक्रम आयोजक संस्थाका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले बिहीबार पत्रकार सम्मेलन गर्दै आठौँ संस्करणको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । अध्यक्ष श्रेष्ठले भने, ‘यसले पोखराको पर्यटनमा नयाँ आयाम थप्ने विश्वास लिएका छौँ ।’ संस्थाका सचिव रामचन्द्र भट्टले साइकल यात्रामार्फत पोखरा र आसपासका लुकेका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गरिने बताए । सहभागीलाई हरित क्रान्तिको सन्देश दिँदै वातावरणमैत्री व्यवहार अपनाउन प्रेरित गरिने उनको भनाइ छ ।

आयोजकका अनुसार कार्यक्रममा ४ वर्षका बालबालिकादेखि ६५ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकसम्म सहभागी हुनेछन् । नेपालका ३२ जिल्ला र छिमेकी मुलुक भारतलगायत अन्य देशका गरी करिब ६ सय ५० जना यात्रीको सहभागिता निश्चित भइसकेको छ । स्थानीय स्तरमा पूर्व–रजिस्ट्रेसन नगरी आउनेको संख्या जोड्दा कुल सहभागी १ हजार नाघ्ने अपेक्षा गरिएको छ ।

यो संस्करणलाई समावेशी बनाउन विश्व साइकल यात्री, सामाजिक अभियन्ता र शारीरिक अपांगता भएका व्यक्तिहरूको पनि विशेष सहभागिता रहनेछ । एकै दिनमा सम्पन्न हुने ५१ किलोमिटरको यात्राले पोखराको प्राकृतिक सौन्दर्य र स्वच्छ वातावरणको सन्देश विश्वभर फैलाउने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया