पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराबाट लागूऔषध ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर २६ कालिकाचोकबाट १.३ ग्राम लागूऔषधसहित पोखरा महानगरपालिका–१ बगर बस्ने २८ वर्षीय मनोज श्रेष्ठ पक्राउ परेका हुन् ।
लागूऔषध बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । गत ८ मंसिरको साँझ ५ बजेतिर श्रेष्ठले चलाएर ल्याएको ग २५ प १९२१ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) हरिबहादुर बस्नेतका अनुसार श्रेष्ठले लगाएको ज्याकेटभित्र प्लास्टिकमा पोको पारेर लुकाइराखेको अवस्थामा खैरो हेरोइन (ब्राउनसुगर) जस्तो देखिने पदार्थ बरामद भएको हो ।
पक्राउ परेका श्रेष्ठउपर कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डिएसपी बस्नेतले बताए । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।