अध्यक्ष ओलीसँगको विमतिबीच ईश्वर पोखरेलद्वारा छुट्टै राजनीतिक दस्तावेज पेस

voiceofgandaki

काठमाडौँ– नेकपा (एमाले) को आगामी ११औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि दाबेदारी प्रस्तुत गर्दै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो छुट्टै राजनीतिक दस्तावेज बुझाएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालयमा पुगेर पोखरेलले महासचिव शंकर पोखरेललाई उक्त दस्तावेज हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष केपी शर्मा ओलीसँगको बढ्दो दूरी र विमतिका बीच पोखरेलले महाधिवेशनमा प्रस्तुत गर्ने गरी अवधारणा पत्र तयार पारेका हुन् । अध्यक्ष ओलीले पोखरेलको दस्तावेज अस्वीकार गर्ने संकेतसहित कार्यालयमा अनुपस्थित भएपछि उनले महासचिवमार्फत उक्त दस्तावेज दर्ता गराएका हुन् । यस घटनाले एमालेभित्रको शक्ति संघर्ष सतहमा आएको संकेत गरेको छ ।

के छ दस्तावेजमा ?

‘नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनको अवधारणा–पत्र : राजनीतिक संकट र पार्टी पुनर्निर्माणमा जोड’ शीर्षकमा पेस गरिएको १८ पृष्ठ लामो दस्तावेजले देशको वर्तमान राजनीतिक संकट र ‘जेनजी’ (Gen-Z) आन्दोलनको समीक्षालाई मुख्य विषय बनाएको छ ।

दस्तावेजमा गत भदौ २३ र २४ गते भएका घटनालाई ‘अकल्पनीय’ र ‘सुनियोजित विध्वंस’ को रूपमा चित्रण गरिएको छ । तर, सँगै पोखरेलले युवाहरूको सडक प्रदर्शनलाई सुशासन, भ्रष्टाचार नियन्त्रण र सामाजिक सञ्जालको स्वतन्त्रताको मागसँग जोड्दै त्यसलाई सकारात्मक रूपमा ग्रहण गर्नुपर्ने औंल्याएका छन् । आन्दोलन दबाउने नाममा भएको हिंसाको निष्पक्ष छानबिनको माग समेत उनले गरेका छन् ।

ओलीलाई काउन्टर : ७० वर्षे उमेरहद र विद्या भण्डारीको कमब्याक

दस्तावेजमार्फत पोखरेलले अध्यक्ष ओलीको कार्यशैली र आगामी योजनामाथि सांकेतिक प्रहार गरेका छन् । उनले पार्टीमा ‘दुई कार्यकाल र ७० वर्ष उमेरहद’ कायम गर्नुपर्नेमा जोड दिएका छन् । यो प्रस्ताव ओलीलाई पुनः अध्यक्ष बन्नबाट रोक्ने रणनीतिका रूपमा हेरिएको छ ।

साथै, पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा फर्काउन उपयुक्त वातावरण बनाउनुपर्ने प्रस्ताव गरेका छन् । यसले ओली इतरको खेमालाई बलियो बनाउने उनको रणनीति देखिन्छ । उनले दशौं महाधिवेशनपछिको कार्यकालको समीक्षा गर्दै पार्टीमा गुटबन्दी र अस्वस्थ प्रतिस्पर्धा मौलाएको भन्दै नेतृत्वको आलोचना गरेका छन् ।

प्रतिगमन र वाम एकता

पोखरेलले संसद् विघटन र वर्तमान अन्तरिम सरकारको गठनलाई ‘प्रतिगमन’ को संज्ञा दिएका छन् । यद्यपि, आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनलाई उनले राजनीतिक निकासको विकल्पका रूपमा स्वीकार गरेका छन् ।

वैश्विक र राष्ट्रिय परिवेशको विश्लेषण गर्दै उनले पुँजीवादको नयाँ रूप ‘टेक्नो फ्युडालिजम’ (प्रविधि सामन्तवाद), जलवायु संकट र नेपालको पराधीन अर्थतन्त्रबारे चर्चा गरेका छन् । जनताको बहुदलीय जनवाद (जबज) लाई समयानुकूल परिष्कृत गर्दै एमालेलाई राष्ट्रिय एकताको अगुवा शक्ति बनाउनुपर्ने उनको निष्कर्ष छ ।

वामपन्थी एकता र एकीकरणलाई ‘ऐतिहासिक आवश्यकता’ औंल्याउँदै उनले एमालेलाई वाम–लोकतान्त्रिक शक्तिको मुख्य आधार बनाउन अपिल गरेका छन् ।

अध्यक्ष ओलीले सर्वसम्मत नेतृत्वको प्रयास गरिरहँदा वरिष्ठ उपाध्यक्ष पोखरेलको यो दस्तावेजले एमालेको आगामी महाधिवेशनमा वैचारिक र नेतृत्वको विषयमा पेचिलो बहस हुने निश्चित देखिएको छ ।

प्रतिक्रिया