पिसिएममा २०२० ब्याचको बिदाइ : व्यवहारिक शिक्षामा जोड, सांस्कृतिक प्रस्तुतिमा रमाए विद्यार्थी

voiceofgandaki

पोखरा  ।

पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) ले स्नातक तह पूरा गरेका विद्यार्थीलाई बिदाइ गरेको छ । कलेजले बिहीबार एक कार्यक्रम आयोजना गरी मायाको चिनोसहित विद्यार्थीलाई बिदाइ गरेको हो ।

कलेजमा अध्ययनरत सन् २०२१ ब्याचका विद्यार्थीले कार्यक्रमको आयोजना गरेका हुन् । उनीहरूले आफ्ना अग्रज सन् २०२० ब्याचका विद्यार्थीलाई बिदाइ गरेका हुन् ।

कार्यक्रममा क्याम्पस प्रमुख लिना नेगी श्रेष्ठले पिसिएमले सधैं व्यवहारिक शिक्षामा जोड दिँदै आएको बताइन् । उनले कक्षाकोठामा सिकेको ज्ञानलाई व्यवहारिक जीवनमा लागु गरेर अघि बढ्न विद्यार्थीलाई आग्रह गरिन् ।

बिदाइ भएर जाने विद्यार्थीका तर्फबाट सम्राट गुरुङले कलेजमा बिताएका पलहरू सधैं अविस्मरणीय रहने बताए । कलेजसँगको सम्बन्ध आगामी दिनमा थप बलियो बनिरहने उनको भनाइ थियो ।

कार्यक्रममा विद्यार्थीले विभिन्न सांस्कृतिक प्रस्तुति देखाएका थिए । उनीहरूले हास्यव्यंग्य, गायन र नृत्य प्रस्तुत गरेर मनोरञ्जन दिलाए । विद्यार्थी निश्चल भण्डारीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन समीक्षा तिमिल्सिना र विनिसा गुरुङले गरेका थिए ।

पोखराको नदीपुरमा रहेको पिसिएम विगत २५ वर्षदेखि सञ्चालनमा छ । पोखरा विश्वविद्यालयको सम्बन्धनमा यहाँ व्यवस्थापन सङ्कायअन्तर्गत बिबिए, बिबिए–फाइनान्स र सूचना प्रविधिमा बिएस्सी आइटीको पढाइ हुन्छ । कलेजमा हाल बिहानी र दिवा सत्रमा गरी ५५० विद्यार्थी अध्ययनरत छन् ।

कलेजले वार्षिक रूपमा ‘पिसिएम फेस्ट’, ‘आइडिया पिच’ प्रतियोगिता, ‘जब फेयर’, ‘पत्रकार सम्मेलन अभ्यास’ र शैक्षिक भ्रमणजस्ता कार्यक्रम गर्दै आएको जनाएको छ ।


प्रतिक्रिया