शिक्षक महासंघद्वारा पुनः आन्दोलनको घोषणा, भदौ दोस्रो सातादेखि सडकमा

voiceofgandaki

काठमाडौं- नेपाल शिक्षक महासंघले सरकारसँग भएको सहमतिअनुसार विद्यालय शिक्षा विधेयक नआएको भन्दै पुनः आन्दोलन गर्ने भएको छ। महासंघले भदौ दोस्रो हप्तादेखि आन्दोलनका कार्यक्रम सुरु गर्ने निर्णय गरेको हो।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बिहीबार काठमाडौंमा बसेको बैठकले पूर्वसहमति कार्यान्वयनमा सरकार उदासीन देखिएकाले आन्दोलनमा जानुपर्ने निष्कर्ष निकालेको जानकारी दिए। उनका अनुसार बैठकमा सरकारसँगको सहमतिपछिको अवस्थाबारे समीक्षा गरिएको थियो।

‘समग्र शिक्षक-कर्मचारीलाई सन्तुष्ट बनाउने र विद्यालय शिक्षाका समस्या समाधान गर्ने गरी विधेयक आउने संकेत देखिएन,’ सुवेदीले भने।

आन्दोलनका कार्यक्रम तय गर्न एक आन्दोलन परिचालन समिति गठन गरिनेछ। उक्त समितिले तयार पारेको खाकालाई महासंघको राष्ट्रिय समितिले अन्तिम रूप दिने अध्यक्ष सुवेदीले बताए।

सुवेदीले हाल शिक्षा समितिमा विधेयकमाथि के-कस्तो छलफल भइरहेको छ भन्नेबारे महासंघलाई कुनै जानकारी नभएको स्पष्ट पारे। ‘प्रतिनिधिसभामा विधेयक दर्ता भएपछि मात्रै हाम्रा माग कति सम्बोधन भए भन्ने मूल्यांकन हुनेछ,’ उनले भने।

आन्दोलनका थप कार्यक्रमबारे निर्णय लिनुअघि महासंघले भदौ ३ र ४ गते राष्ट्रिय समितिको पूर्ण बैठक बोलाएको छ।

प्रतिक्रिया