पोखरा–२१ मा बिहीबार ‘सुन्तला महोत्सव’ : १०० रुपैयाँमै ‘ए’ ग्रेडको सुन्तला पाइने

voiceofgandaki

पोखरा । स्थानीय उत्पादनको प्रवर्द्धन, आन्तरिक पर्यटन विकास र कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले पोखरा महानगरपालिका–२१ मा ‘सुन्तला महोत्सव’ हुने भएको छ। वडास्तरीय कृषि सञ्जालको समन्वय र पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाको संयोजनमा आगामी बिहीबार (१० पुस) महोत्सव आयोजना गर्न लागिएको हो।

महोत्सव पोखरा–२१ स्थित कृस्ती हर्राबोट खेलमैदानमा हुनेछ। पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले स्थानीय उत्पादनको बजारीकरण गर्दै अर्थतन्त्र चलायमान बनाउन महोत्सवले सघाउने बताए।

महोत्सवमा सुन्तला उत्पादनका विविध पक्ष, समस्या र समाधानका उपायबारे छलफल हुने कडरियाले जानकारी दिए। उनका अनुसार महोत्सवमा ‘सुन्तला ग्रेडिङ’, सुन्तला खाने प्रतियोगिता र बढी उत्पादन गर्ने कृषकलाई सम्मान गर्ने कार्यक्रम छ। ‘मेलाको अवसरमा ‘ए’ ग्रेडको सुन्तला १०० रुपैयाँमै खुद्रा बिक्री गर्ने व्यवस्था मिलाएका छौँ,’ कडरियाले भने, ‘पोखराको पहिचान बोकेको सुन्तलाको प्रवर्द्धनमा सबै जुट्न आवश्यक छ।’

पोखरा–२१ का वडाध्यक्ष दीपक सुवेदीले महोत्सवमा सहभागी भएर आफ्ना उत्पादन बिक्री–वितरण गर्न वडावासी कृषकलाई आग्रह गरेका छन्। उनले पोखरावासीलाई स्थानीय किसानले फलाएको ताजा सुन्तलाको स्वाद लिन कार्यक्रमस्थलमा आउन निम्तो दिए।

प्रतिक्रिया