अमेरिकामा नेजाको शृंखलाबद्ध कार्यक्रम : न्युयोर्कदेखि डिसीसम्म डायस्पोराका मुद्दामा मन्थन हुँदै

voiceofgandaki

अमेरिका । अमेरिका र क्यानडामा रहेका नेपाली पत्रकारहरूको साझा संस्था नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले अमेरिकाका विभिन्न सहरमा शृंखलाबद्ध कार्यक्रम गर्ने भएको छ । नेजाले न्युयोर्क, टेक्सास, बाल्टिमोर र वासिङ्टन डिसीमा डायस्पोराका समस्या, पत्रकारिता र समुदायसँगको सहकार्यमा केन्द्रित रहेर वृहत् कार्यक्रमहरू गर्न लागेको हो ।

समुदायको हितमा सघाउने, अमेरिकी मूलधार तथा स्थानीय नेपाली समुदायसँग हातेमालो गर्ने र संस्थालाई समयानुकूल गतिशील बनाउने उद्देश्यले यी कार्यक्रम तय गरिएको नेजाकामहासचिव ईश्वरी न्यौपानेले जानकारी दिए ।

शृंखलाबद्ध कार्यक्रमअन्तर्गत मार्च २१ शनिबार न्युयोर्कमा ‘नेजा संवाद’ आयोजना हुँदै छ । न्युयोर्कको सन्नीसाइडस्थित बाजेको सेकुवामा दिउँसो १ बजे सुरु हुने संवादमा डायस्पोराका नेपाली समुदायले भोगिरहेका वर्तमान चुनौती र समाधानका उपायबारे छलफल हुनेछ । कार्यक्रममा न्युयोर्कस्थित महावाणिज्य दूतावासका अधिकारीले दूतावासबाट प्रवाह हुने सेवा र सुविधाबारे जानकारी दिनेछन् भने सेवाग्राहीका गुनासा र सुझावबारे प्रत्यक्ष छलफल हुनेछ ।

सोही संवादमा कानुन व्यवसायी डिल्लीराज भट्टले नेपाली समुदायले भोग्नुपरेको आप्रवाससम्बन्धी परिवर्तित नियम, कानुन र कानुनी उपचारबारे सचेतना जगाउने कार्यक्रम छ । यस कार्यक्रमको सहजीकरण नेजाकी उपाध्यक्ष कल्पना घिमिरेले गर्नेछिन् भने संयोजनको जिम्मा उत्तरपूर्व संयोजक शान्तिराज राईले पाएका छन् ।

यसैगरी, नेजाले आफ्नो स्थापना दिवसको सन्दर्भ पारेर अप्रिल १८ शनिबार टेक्सासको डालासमा ‘नेजा कन्क्लेभ’ आयोजना गर्दै छ । कार्यक्रम संयोजक एवं नेजाका मध्य क्षेत्र संयोजक ओम आचार्यका अनुसार एक दिवसीय उक्त कार्यक्रममा तीनवटा छुट्टाछुट्टै विषयमा प्यानल छलफल हुनेछ । छलफलमा अमेरिकी सरकारी निकायका प्रतिनिधि, राजनीतिज्ञ, विषय विज्ञ र सञ्चार विज्ञसहित करिब १० जना वक्ता रहनेछन् । जसमा स्थानीय नेपाली समुदायका अगुवा र पत्रकारहरूको सहभागिता रहनेछ । स्थापना दिवसकै अवसर पारेर भोलिपल्ट अप्रिल १९ मा ब्लड डोनर्स अफ अमेरिकासँगको सहकार्यमा रक्तदानलगायतका कार्यक्रमसमेत तय गरिएको छ ।

संस्थाको सांगठनिक गतिविधिलाई अगाडि बढाउन नेजाले मे २ मा मेरिल्यान्ड राज्यको बाल्टिमोर सहरमा आफ्नो वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । साधारण सभा बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) को सभाकक्षमा हुनेछ । कार्यक्रम तयारीका लागि डिसी मेट्रो संयोजक सिर्जना काफ्लेलाई जिम्मेवारी तोकिएको छ । साधारण सभाबारे सम्पूर्ण सदस्यहरूलाई इमेलमार्फत जानकारी गराइसकिएको र स्थानीय समुदायसँगको समन्वयमा प्रारम्भिक तयारी भइरहेको काफ्लेले जानकारी दिइन् ।

त्यसैगरी, विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भ पारेर मे ४ मा वासिङ्टन डिसीमा विशेष कार्यक्रम हुने भएको छ । वासिङ्टन डिसीस्थित नेपाली राजदूतावाससँगको सहकार्यमा उक्त कार्यक्रम हुन लागेको हो । नेजाका अध्यक्ष सुरज भण्डारीका अनुसार यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवसको मूल नारा ‘सेपिङ अ फ्युचर एट पिस : प्रमोटिङ प्रेस फ्रिडम फर ह्युमन राइट्स, डेभलपमेन्ट, एन्ड सेक्युरिटी’ मा केन्द्रित रहेर कार्यक्रम सञ्चालन गरिनेछ ।

प्रतिक्रिया