पोखरा । मंसिरको चिसो साँझ । पोखराको व्यस्त बजार महेन्द्रपुलस्थित फल्चामा एक्कासि सारंगीको धुन गुञ्जियो । मानिसहरू टक्क अडिए । धुनसँगै जब बालकलाकारहरूको सामूहिक स्वरमा ‘आमाले सोध्लिन् नि खै छोरा भन्लिन्...’ गीतका शब्दहरू बग्न थाले, उपस्थित दर्शकहरू भावुक बने । उनीहरूलाई नेपाली लोकगीतका सम्राट झलकमान गन्धर्वको यादले सतायो ।
त्यसको केही बेरमै माहोल फेरियो । ‘एउटा मान्छेको मायाले कति फरक पर्दछ...’ भन्दै जब स्वरसम्राट् नारायण गोपालको गीत गुञ्जियो, दर्शकहरू अतीतको प्रेमिल दुनियाँमा पुगे ।
अवसर थियो, रेडियो अन्नपूर्ण पोखराको रजत वर्षका सन्दर्भमा आयोजित ‘स्मृतिमा झलकमान र नारायण गोपाल साँझ’ ।
कार्यक्रमको आकर्षण थिए, झलकमान गन्धर्व सारंगी पाठशालाका प्रशिक्षार्थीहरू । कलिला हातले सारंगी रेट्दै अविरल, शैलेश, क्रिस, दिपेश, सागर, प्रताप, युनिश, संस्कार, रेवाज, सम्पूर्ण र आविष्कारले दुई महान् स्रष्टाका गीत एकपछि अर्को गर्दै पस्किए । प्रशिक्षक समीर गायकको निर्देशनमा उनीहरूले देखाएको कला देखेर कन्दरा ब्यान्डका भोकलिस्ट विवेक श्रेष्ठसमेत दंग परे । उनले भने, ‘यो केवल सांगीतिक प्रस्तुति होइन, हाम्रो मौलिकता हस्तान्तरणको सन्देश पनि हो ।’
बालकलाकारहरूले अन्त्यमा पोखरेली स्रष्टा बुद्धि परियारको कालजयी गीत ‘रेशम फिरिरी...’ गाएर बिट मार्दा दर्शकले तालीको गडगडाहटले साथ दिए ।
कार्यक्रममा कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले दुई स्रष्टाको योगदानको चर्चा गरे । उनले झलकमानको सारंगी र नारायण गोपालको स्वरले कसरी नेपाली संगीतको इतिहास कोरे भन्ने फेहरिस्त सुनाउँदा दर्शक मन्त्रमुग्ध भएर सुनिरहेका थिए ।
स्टेसन म्यानेजर सञ्जयकुमार मल्लका अनुसार रेडियो अन्नपूर्णले आफ्नो २५औं वर्ष प्रवेश (रजत वर्ष) का अवसरमा ‘१२ महिना १२ कार्यक्रम’ अभियान चलाइरहेको छ । सोही अन्तर्गत मंसिर ६ गते झलकमान र १९ गते नारायण गोपालको स्मृति दिवस पारेर यो संयुक्त सांगीतिक साँझ आयोजना गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले सारंगी पाठशालाका प्रतिभालाई मञ्च दिन पाउँदा खुसी लागेको बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
रेडियोले यसअघि रजत वर्षकै अवसरमा वात्स्यायन वृद्धाश्रममा सहयोग, ‘न–जी’ आन्दोलनमा क्षति भएको जिल्ला प्रहरी कार्यालय कास्कीमा स्टेसनरी सहयोग, विन्ध्यवासिनी मन्दिर सरसफाइ, आदिकवि भानुभक्तको सम्झनामा कविता वाचन लगायतका सिर्जनात्मक र सामाजिक काम गरिसकेको छ ।
महेन्द्रपुलको फल्चामा भएको त्यो साँझ केवल एउटा कार्यक्रम मात्र थिएन, पुस्तान्तरण हुँदै गरेको संगीत, स्रष्टाप्रतिको सम्मान र समुदायसँग जोडिने रेडियोको एउटा सुन्दर प्रयास थियो ।
२० मङ्सिर २०८२, शुक्रबार ०५:५३ मा प्रकाशित