पोखरा, २३ वैशाख । कास्कीको मादी गाउँपालिका वडा नम्बर १२ मा रहेको भगवती बहुउद्धेश्यीय सिकाई केन्द्रले वडा नम्बर १२, ११ र १० का महिलाहरुलाई उद्यमी बनाउन भन्दै सिस्नोको साबुन बनाउने लघु उद्यमी ५ दिने तालिम दिएको छ ।
मादी गाउँपालिकाको सहयोग र मादी गाउँपालिका वडा नं १२ को समन्वयमा भगवती बहुउद्देश्यीय सिकाई केन्द्रको आयोजनामा संस्थाको भवन भगवतीटारमा प्रदान गरिएको तालिममा सिस्नोको साथै मेवा, तितेपाती, घिउकुमारी, लगायत जडिबुटी जन्य सामग्री प्रयोग गरी साबुन वनाउन सिकाईएको थियो ।
तालिम समापन कार्यक्रममा बोल्दै मादी गाउँपालिका प्रमुख देवीजंग गुरुङले सिक्नका लागि मात्रै सिप सिक्ने बानीले गर्दा हामी नेपालीहरु पछि परेको बताउँदै सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सबैलाई आग्रह गरे । समूह बनाई व्यावसायिक रूपमा सामग्री उत्पादन गर्न प्रोत्साहन गर्दै उनले बिक्रीका विषयमा बजार व्यवस्थापनको जिम्मा गाउँपालिकाले लिने प्रतिवद्धता समेत व्यक्त गरे ।
महिलाहरुलाई सीप सिकाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष महेन्द्रप्रसाद पौडेलले बताए । उनले वर्तमान समयमा महिलाहरू चुलो चौकोमा मात्र सीमित नभई व्यावसायिक रूपमा अघि बढी घर तथा समाजको आर्थिक विकासमा पनि योगदान दिन सक्षम रहेको धारणा राखे ।
कार्यक्रममा मादि गाउँपालिका वडा नम्बर १२ का कार्यबाहक अध्यक्ष लक्ष्मी गिरी, वडा नम्बर ११ वडा सचिव अरुण पौडेल, संस्थाका सल्लाहकारहरु पदम प्रसाद पौडेल र इन्द्रबहादुर खत्री, प्रशिक्षकद्वय सागर कार्की र शोभा कँडेल, दरबारथोक मिडिया प्रालिका अध्यक्ष कृष्ण रानाभाट, प्रशिक्षार्थीहरु नारायणी पौडेल र इन्द्रमाया तामाङले बोलेका थिए । सिकाइ केन्द्रका महेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष कुमुलता सुवेदी र सञ्चालन सचिव तुलसी आचार्यले गरेका थिए ।