पोखरा । पोखराको नयाँबजारमा सञ्चालित ‘नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक २०८२’ सकिएको छ । मंसिर १७ गतेदेखि सुरु भएको ५ दिने मेलाको शनिबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले समापन गरे ।
समापन समारोहमा बोल्दै मेयर आचार्यले रोजगारी सिर्जना र भौतिक विकासका लागि महानगर निजी क्षेत्रसँग हातेमालो गर्न तयार रहेको बताए । उनले उद्यमशीलता चाहनेहरूका लागि महानगरले व्यवसाय प्रवर्द्धन केन्द्रमार्फत आवश्यक तालिम र परामर्श सेवा दिइरहेको जानकारी दिए ।
‘ऋणीलाई अपराधी करार गर्ने प्रवृत्ति बढ्यो’
आयोजक पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले राज्यले उद्यमशील व्यक्तिलाई संरक्षण गर्नुपर्नेमा जोड दिए । पछिल्लो समय बैंकबाट ऋण लिएर व्यवसाय गर्नेहरूलाई अपराधीजस्तो व्यवहार गरिएको भन्दै उनले असन्तुष्टि पोखे ।
‘राजनीति पेसा होइन, पेसा–व्यवसाय गर्ने मान्छे नै राजनीतिमा होमिने हो भन्ने हाम्रो मान्यता छ,’ अध्यक्ष कार्कीले भने, ‘गएको भदौ २४ गते उद्योगी–व्यवसायीमाथि ताकी–ताकी भएको आक्रमणलाई हामी क्रान्ति मान्दैनौं । आइन्दा यस्ता घटना नदोहोरिउन् र व्यवसायीले सम्मानपूर्वक काम गर्ने वातावरण बनोस् ।’
उत्कृष्ट स्टल र झाँकी सम्मानित
समापनका अवसरमा मेलामा सहभागीमध्येबाट उत्कृष्ट स्टलतर्फ कस्मिक कम्प्युटर सम्मानित भयो । त्यस्तै, उत्कृष्ट झाँकी र सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने नेपाल मगर संघ कास्की र देवीस्थान भजन समूह हेम्जालाई सम्मान गरिएको थियो ।
स्वास्थ्य पर्यटनदेखि उत्पादकत्वसम्म
कार्यक्रममा पोखरा महानगरपालिकाका आर्थिक महाशाखा प्रमुख मनोहर कडरियाले उत्पादकत्व नबढाएसम्म देश समृद्ध नहुने धारणा राखे । मेलाको मुख्य प्रायोजक मणिपाल शिक्षण अस्पतालका कार्यकारी निर्देशक अनिल ओडोविलले गुणस्तरीय सेवामार्फत पोखरालाई 'स्वास्थ्य पर्यटन' को केन्द्र बनाउन मणिपाल लागिपरेको बताए ।
नेपाल पत्रकार महासंघ गण्डकीकी अध्यक्ष जमुना वर्षा शर्माले मेला–महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धन र सुस्त अर्थतन्त्रलाई चलायमान बनाउन सघाएको बताइन् । कार्यक्रमको सञ्चालन संघकी महासचिव शोभा गौतमले गरेकी थिइन् भने उपाध्यक्ष दिनेशचन्द्र बास्तोलाले धन्यवाद ज्ञापन गरेका थिए ।
मेलाको उद्देश्य र उपलब्धि
‘लगानीको संवर्द्धन: उद्योग व्यवसायको प्रवर्द्धन’ भन्ने नारासहित आयोजित मेलाले गण्डकी प्रदेशमा लगानी र पर्यटनको सम्भावना उजागर गरेको आयोजकले जनाएको छ ।
प्रचारप्रसार संयोजक एवं संघका कार्यसमिति सदस्य मनोहरि पौडेलका अनुसार मेला अवधिभर उद्यमशीलता, लगानीमैत्री नीति, नवप्रवर्तन, सूचना प्रविधि र कृषिसँग सम्बन्धित विभिन्न विषयमा बहस तथा परिसंवाद (प्यानल डिस्कसन) सञ्चालन गरिएको थियो । राष्ट्रिय उत्पादनको बजारीकरण र सूचना प्रविधिको विस्तारमा मेला फलदायी भएको आयोजकको दाबी छ ।
२२ मङ्सिर २०८२, आईतबार ०७:१३ मा प्रकाशित