दल दर्ताको समय थपियो : अब १४ गतेसम्म पाइने, १०६ दल चुनावी मैदानमा

voiceofgandaki

काठमाडौं  ।

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्ने समय थपेको छ । अब राजनीतिक दलहरूले मंसिर १४ गतेसम्म आयोगमा दल दर्ता गर्न पाउनेछन् । यसअघि आयोगले मंसिर १ देखि १० गतेसम्मको समय तोकेको थियो ।

आयोगको बुधबार बसेको बैठकले म्याद थप्ने निर्णय गरेको हो । अन्तिम समयमा दल दर्ता गर्नेको चाप बढेपछि समय थपिएको आयोगले जनाएको छ । विभिन्न राजनीतिक दल र सरोकारवालाले समय अपुग भएको भन्दै थप्न अनुरोध गरेका थिए । सोही अनुरोधलाई मध्यनजर गर्दै आयोगले चार दिन समय थपेको हो ।

आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बुधबारसम्म १०६ वटा दलले निवेदन दिएका छन् । प्रतिनिधि सभा सदस्यको निर्वाचन आगामी फागुन २१ गते हुँदै छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि भने उत्साह कम देखिएको छ । २०८२ साल माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि जम्मा १३ वटा दलले मात्र आवेदन दिएका छन् । यो निर्वाचनका लागि मंसिर १ देखि ७ गतेसम्म दल दर्ताको समय तोकिएको थियो ।

प्रतिक्रिया