काठमाडौं ।
पोखराको विवादित लिचीबारी जग्गा प्रकरणमा भूमिव्यवस्था तथा सहकारी मन्त्रालयका एक पूर्वसचिव पनि मुछिएका छन् । हालै अवकाश पाएका सचिव अर्जुन पोखरेलले जग्गा दर्ता गरिदिने आश्वासन दिएर ५ लाख रुपैयाँ नगदसहित वनकुखुरा र अरिंगालसमेत घुस लिएको आरोप लागेको हो । यो खुलासा भूमिव्यवस्थामन्त्री संलग्न अडियो काण्डका मुख्य पात्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष गरेको बयानबाट भएको हो ।
स्रोतका अनुसार, भूमिव्यवस्था मन्त्री बलराम अधिकारीलाई भेट्ने क्रममा ती व्यक्तिको सचिव पोखरेलसँग चिनजान भएको थियो । ‘काम गराउने हो भने कर्मचारीलाई खुसी पार्नुपर्छ’ भन्दै पोखरेलले रकम मागेपछि ती व्यक्तिले मन्त्रालयकै एक कर्मचारीमार्फत रानीबारीस्थित पोखरेलको निवासमै ५ लाख रुपैयाँ पुर्याइदिएको स्रोतको दाबी छ ।
नगदसँगै पोखरेलको घरमा ‘ग्रिनफिल्ड’ ब्रान्डको मदिरा पनि पुर्याइएको थियो । त्यसबाहेक, आफू बिरामी भएको भन्दै पोखरेलले पोखराबाट ‘तागत दिने खानेकुरा’ मगाएपछि उनलाई नयाँपुलको एक होटलबाट दुईवटा वनकुखुरा र करिब आधा किलो अरिंगालको प्याकेटसमेत पठाइएको थियो । उक्त होटलमा भएको करिब १५ हजार रुपैयाँको खर्च क्यूआर कोडमार्फत भुक्तानी गरिएको र सो लेनदेनको प्रमाणसमेत सुरक्षित रहेको उजुरीकर्ताले अख्तियारलाई बताएका छन् ।
पैसा र सामान बुझेपछि सचिव पोखरेलले कास्की मालपोतमा नयाँ सरुवा भएर आएका प्रमुख चिरञ्जीवी पौडेललाई आफूले निर्देशन दिएर काम फत्ते गराइदिने भन्दै ढुक्क पारेका थिए । ‘त्यही काम होला कि भनेर सचिवलाई पनि खुसी बनाएको हुँ,’ अडियो प्रकरण सार्वजनिक गर्ने व्यक्तिले भनेका छन् ।
पोखरा बाटुलेचौरको लिचीबारीस्थित जग्गा शाह परिवारको नाममा दर्ता गर्न अदालतले दिएको आदेश कार्यान्वयनका लागि निवेदन दिइएको थियो । तर, घुस लिएर पनि काम नभएपछि यो प्रकरण बाहिर आएको हो । यसअघि नै मालपोTलत प्रमुख पौडेलले भूमिव्यवस्थामन्त्री बलराम अधिकारीलाई ७० लाख रुपैयाँ बुझाएको भनिएको अश्लील संवादयुक्त अडियो सार्वजनिक भइसकेको छ, जसले यो प्रकरणको जरो अझ गहिरो रहेको देखाउँछ ।
यस गम्भीर आरोपबारे प्रतिक्रियाका लागि पूर्वसचिव पोखरेलसँग सम्पर्क गर्ने प्रयास सफल हुन सकेन ।
१६ साउन २०८२, बिहिबार ०७:२२ मा प्रकाशित