पोखरा ।
सहारा क्लब पोखराको आयोजनामा हुँदै आएको आहा रारा पोखरा गोल्डकपको यो वर्ष माघमा हुने भएको छ । गोल्डकपको २५ औं संस्करण आगामी माघ २७ देखि फागुन ९ गतेसम्म आयोजना हुने क्लबले सोमबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । क्लबले रजत जयन्ती फुटबल प्रतियोगितालाई अझ व्यवस्थित र भव्य बनाउने योजनासहित अघि बढेको छ ।
राष्ट्रिय÷अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित उक्त प्रतियोगिताको तयारी अगाडि बढाइएको क्लबका अध्यक्ष केशवबहादुर थापाले बताए । प्रतियोगितामा विदेशी केही टोलीसहित नेपालका स्तरीय क्लबले भाग लिने उनको भनाइ छ । प्रतियोगितामा सहभागी हुने टोलीको संख्या अझै टुंगो नलागेको उनले बताए ।
पत्रकार सम्मेलनमा पोखरा महानगरपालिका–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले यस प्रतियोगिताले फुटबलका माध्यमबाट पोखरालाई चिनाउने काम गरेको बताए । फुटबलको विकासका लागि पोखरा महानगरपालिका सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो । प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिका निर्देशक प्रकाश केसीले आहा रारा पोखरा गोल्ड कपसँगको सहकार्य निरन्तर रहने बताए ।
प्रतियोगिताको संरक्षकमा पोखरा महानगरपालिका, विशेष सहयोगीमा राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश खेलकुद परिषद्, कास्की जिल्ला खेलकुद विकास समिति, अखिल नेपाल फुटबल संघ, कास्की जिल्ला फुटबल संघ र उप–प्रायोजकमा पोखरा महानगरपालिका–९ कार्यालय रहेको छ । गत वर्ष भएको २४औँ संस्करणको उक्त प्रतियोगिताको उपाधि उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले जितेको थियो । नेपाल पुलिस क्लब उपविजेता बनेको थियो ।
पत्रकार सम्मेलनमा क्लबले गत कात्तिक १४ गते आयोजना गरेको ‘सहारा च्यारेटी डिनर नाइट’ कार्यक्रमको आयव्ययसमेत सार्वजनिक गरेको थियो । उक्त कार्यक्रमबाट २४ लाख १९ हजार संकलन भएकामा ६ लाख ७७ हजार खर्च भई १७ लाख ४१ हजार बचत भएको क्लबले जनाएको छ ।
बचत भएको रकम क्लबद्वारा सञ्चालित ‘सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमी’ सञ्चालनमा खर्च हुने क्लबका महासचिव गंगाराम पौडेलले जानकारी दिए । ऐकेडेमीमा १६ जिल्लाका ३० किशोरले आवासीय सुविधासहित फुटबल सिकिरहेका छन् ।