'परान' बाट चम्किएका महेश : बक्स अफिसमा सफलता, दर्शकको मनमा बास
voiceofgandaki
११ मङ्सिर २०८२, बुधबार
काठमाडौं ।
चलचित्र 'परान' ले यतिबेला घरेलु बक्स अफिसमा आक्रामक व्यापार गरिरहेको छ । चलचित्र हेरेर बाहिर निस्किएका अधिकांश दर्शकको मन महेश त्रिपाठीले जितेका छन् । फरकफरक पात्रमा बाँच्ने महेशलाई यो चलचित्रले जीवनकै ठुलो सफलता दिलाएको छ । गत कार्तिक १४ गतेबाट प्रदर्शनमा आएको यो चलचित्रले दर्शकको माया पाइरहेको छ ।
चलचित्रमा वरिष्ठ कलाकार नीर शाह धर्मनाथको भूमिकामा छन् । महेशले उनकै कान्छा छोरा गोपीनाथको भूमिका निर्वाह गरेका छन् । यी दुई पात्रबिचका संवादले हलमा पुग्ने दर्शकका आँखा रसाएका छन् । नीर शाह र महेशको अभिनयले चलचित्रलाई जुरुक्कै बोकेको छ । दर्शकको मानसपटलमा यो जोडी गहिरोसँग बसेको छ । हरेक दर्शकले महेशको पात्रमा आफूलाई महसुस गरेका छन् । चलचित्रको एउटा दृश्यमा महेशले मनको भाव पोख्छन् । त्यहाँ 'नबोलेरै मनका कुरा बुझ्ने भएर त बा भएका होलान्' भन्ने आशयको दृश्यले धेरैको मन स्थिर बनाइदिन्छ ।
महेशले अभिनयमा आफ्नो क्षमता यसअघि नै प्रमाणित गरिसकेका थिए । तर उनले बक्स अफिसको स्वाद भने चाख्न पाएका थिएनन् । चलचित्र 'हल्कारा' मा उनले हुलाकीको पात्र निभाएका थिए । सो भूमिकाका लागि उनले अमेरिकाको पुरानो प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा उत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गरेका थिए । तर त्यो फिल्म व्यावसायिक रूपमा सफल हुन सकेन । अघिल्लो वर्ष प्रदर्शन भएका 'लाज शरणम' र 'फेरी रेशम फिलिली' मा पनि उनको कामको तारिफ भयो । उनले 'लाज शरणम' मा कर्णालीको सन्देश बोकेका थिए । 'फेरी रेशम फिलिली' मा समलिंगी पात्रको भूमिकामा देखिएका थिए । अभिनयको तारिफ भए पनि ती चलचित्रले व्यावसायिक सफलता पाउन सकेका थिएनन् ।
कास्कीकोटमा हुर्किएका महेश सानोमा रोबोट बनाउँथे । इन्जिनियरिङ सकेपछि उनी फिल्म पढ्न काठमाडौं आएका थिए । उनले अभिनय गरेका चलचित्रहरूमा दर्शकले फरक स्वादको अनुभूति गरेका छन् । 'खजुरे ब्रो' देखि 'चपली हाइट' सम्म उनले अभिनय गरेका छन् । 'प्रसाद २' मा पनि उनका संवाद र अभिनयले दर्शकलाई छुट्टै जोनमा पुर्याउँछ ।
अहिले महेश कलाकारिता क्षेत्रका व्यस्त कलाकार बनेका छन् । 'परान' मा नीर शाहसँग गरेको अभिनयले उनलाई आम दर्शकसम्म पुर्याएको छ । उनी हाल 'छत्तिसको आँकडा' र 'ककाकीकी' को सुटिङमा व्यस्त छन् । साथै सफल चलचित्र 'झिङ्गे दाउ' को सिक्वेलमा समेत उनी प्रमुख पात्रको रूपमा अनुबन्धित भएका छन् ।