तनहुँ कांग्रेसद्वारा चुनावी उम्मेदवार सिफारिस : गोविन्द भट्टराईदेखि प्रदीप पौडेलसम्मको नाम केन्द्रमा

voiceofgandaki

दमौली । नेपाली कांग्रेस तनहुँले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारहरूको नामावली केन्द्रमा पठाएको छ । जिल्ला कार्यसमितिको मंसिर २६ गते बसेको बैठकले क्षेत्रीय समितिको सिफारिसबमोजिम जिल्लाका दुवै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तथा समानुपातिकतर्फका आकांक्षीहरूको नाम अनुमोदन गर्दै केन्द्रमा पठाउने निर्णय गरेको हो ।

कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालका अनुसार प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रत्यक्षतर्फ केन्द्रीय सदस्य गोविन्द भट्टराईको नाम पहिलो नम्बरमा सिफारिस गरिएको छ । यस क्षेत्रबाट प्रत्यक्षतर्फ टिकटका लागि जिल्ला नेताहरू रामचन्द्र पोख्रेल, सरिता गुरुङ, दीपक भट्टराई, रेशम गुरुङ, डा. जगदीशचन्द्र पोख्रेल, रमेशबाबु भट्टराई, पुरुषोत्तम खनाल, उद्धव पौडेल र श्यामकुमार मौरतीको नाम पनि पठाइएको छ । रामचन्द्र पोखरेल र डा. जगदीशचन्द्र दाजुभाइ हुन् ।

क्षेत्र नम्बर १ को समानुपातिकतर्फ विभिन्न क्लस्टरबाट उम्मेदवार सिफारिस गरिएको छ । जसमा दलित पुरुषतर्फ डोबाटे बिक र दलित महिलामा यमुना बिक छन् । महिला कोटामा चिनु पोख्रेल, पवित्रा पौडेल र एलिजा ढकाल तथा जनजातिमा मीरा जोशी र चिजा श्रेष्ठको नाम सिफारिस भएको छ । त्यस्तै, अपांग/अल्पसंख्यक कोटामा प्रकाश पन्थ, जब्बरदिन मिया मुन्ना र सहिदा खातुन तथा अन्यतर्फ समुन्द्र गोदार र हरिदत्त पौडेलको नाम केन्द्रमा पठाइएको छ ।

तनहुँ क्षेत्र नम्बर २ मा भने केन्द्रीय राजनीतिमा प्रभाव राख्ने नेताहरूको नाम अगाडि सारिएको छ । यहाँको प्रत्यक्षतर्फ केन्द्रीय सदस्य एवं पूर्वमन्त्रीद्वय शंकर भण्डारी र प्रदीप पौडेलको नाम सिफारिस भएको छ । यी दुई प्रभावशाली नेताबाहेक पुष्पराज पराजुली, क्षेत्रीय सभापति चुडामणी खनाल, जिल्ला नेताहरू चामबहादुर थापा, डा. यदुनाथ खनाल र नवीन खनालको नाम पनि सूचीमा समावेश छ । क्षेत्र नम्बर २ को समानुपातिकतर्फ भने मायादेवी राना, इन्दिरा खनाल र सन्तोष घिमिरे सिफारिस भएका छन् ।

प्रतिनिधि सभासँगै राष्ट्रिय सभा सदस्यका लागि पनि कांग्रेस तनहुँले ७ जनाको नाम सिफारिस गरेको छ । जिल्लाका दुवै निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने गरी ध्रुव वाग्ले, रघुनाथ पौडेल, लक्ष्मी आचार्य, डा. कृष्णप्रसाद गौतम, अर्जुन अधिकारी, कुलचन्द्र वाग्ले र विद्या खनालको नाम सिफारिस गरिएको सचिव खनालले जानकारी दिए । जिल्ला समितिले आकांक्षी सबैको नाम जस्ताको तस्तै केन्द्रमा पठाउने निर्णय गरेको हो ।

प्रतिक्रिया