पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिले आगामी निर्वाचनका लागि जिल्लाबाट सिफारिस भएर आएका उम्मेदवारहरूको नामावली जस्ताको तस्तै केन्द्रमा पठाउने निर्णय गरेको छ । आइतबार पोखरामा सम्पन्न पूर्ण बैठकले प्रतिनिधि सभा, राष्ट्रिय सभा र समानुपातिकतर्फका आकांक्षीहरूको नाममा प्रदेश समितिको राय संलग्न गरी केन्द्रीय कार्यालयमा पठाउने निर्णय गरेको हो । जिल्लाहरुबाट हाल प्रत्यक्षका लागि १ सय ६३ र समानुपातिकतर्फ १ सय ३७ जनाको नाम प्राप्त भएको महामन्त्री विष्णुप्रसाद लामिछानेले जानकारी दिए । समानुपातिकतर्फ जिल्लाबाट १ सय २१ जनाको नाम आएकामा प्रजातन्त्र सेनानी संघबाट १६ जनाको नाम सिफारिस भएको छ । यसैगरी राष्ट्रिय सभाका लागि ४८ जनाको नाम सिफारिस भएको छ ।
कांग्रेस गण्डकीका प्रवक्ता माधव बास्तोला ‘मधु’ का अनुसार केन्द्रले तोकेको मापदण्डभित्र पर्ने सबै नाम सिफारिस गरिनेछ । ‘प्रतिनिधि सभा र राष्ट्रिय सभाका लागि क्षेत्रीय समितिबाट जिल्ला हुँदै आएका सबै नामहरूलाई मापदण्डले छेकेको बाहेक रायसहित पठाउने निर्णय भयो,’ प्रवक्ता बास्तोलाले भने, ‘मापदण्डअनुसार हाल बहालवाला प्रदेश सभा सदस्यहरू, कारबाहीमा परेकाहरू र समानुपातिकको बन्द सूचीमा रहेकाहरूको नाम भने हटाइनेछ ।’
प्रदेशका ११ जिल्लामध्ये ९ जिल्लाबाट उम्मेदवारहरूको अन्तिम नामावली प्राप्त भइसकेको छ । प्रवक्ता बास्तोलाका अनुसार मनाङ र मुस्ताङको टुंगो लाग्न बाँकी छ । मनाङबाट समानुपातिकतर्फको नाम आए पनि प्रत्यक्षतर्फको टुंगो लागेको छैन भने मुस्ताङबाट अहिलेसम्म कुनै सिफारिस आएको छैन ।
‘हामीले सोमबार साँझसम्म सबै नाम फाइनल गरेर केन्द्रमा पठाउने तयारी गरेका छौं,’ बास्तोलाले भने, ‘मनाङ र मुस्ताङको नाम आएपछि गण्डकी प्रदेशबाट सिफारिस हुने उम्मेदवारको यकिन संख्या भन्न सकिन्छ ।’
बैठकमा सहभागी प्रदेश सदस्य अजित क्षेत्रीले टिकट वितरणलाई वैज्ञानिक र न्यायोचित बनाउनुपर्नेमा जोड दिए । ‘हामीले विवेक पु¥याएर देश, जनता र पार्टीको हित केन्द्रमा राखी राय दिएका छौं,’ क्षेत्रीले भने, ‘नेताको विवेकमा आधारित टिकट वितरण प्रणालीलाई बदल्दै वैज्ञानिक मूल्यांकन र प्रभावकारिताको आधारमा टिकट दिइनुपर्छ ।’ उनले ‘प्री–प्राइमरी इलेक्सन’ को मतभार कम्तीमा ५० प्रतिशत राखेर पार्टीमा गरेको योगदानका आधारमा उम्मेदवार छनोट गर्ने विधि बनाउन माग गरे । बैठकले कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति शोक प्रस्ताव पारित गर्दै विभिन्न बैठकका निर्णयहरू अनुमोदन गरेको छ ।
सोमबार आकस्मिक केन्द्रीय समिति बैठक
यसैबीच, नेपाली कांग्रेसले सोमबार बिहान ९ बजेका लागि केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश सभापतिहरूलाई उपस्थित हुन भनिएको छ । आकस्मिक बैठकको एजेन्डा भने खुलाइएको छैन ।