पोखरा .
तमु धिं नेपालले गण्डकी प्रदेशका प्रथम प्रदेश प्रमुख, प्रजातन्त्रका सेनानी तथा वरिष्ठ समाजसेवी पृथ्वीमान गुरुङको निधनले आफूहरू स्तब्ध भएको जनाएको छ। संस्थाले शोक वक्तव्य जारी गर्दै गुरुङको निधनले सम्पूर्ण तमु समुदायलाई दुःखी बनाएको बताएको हो।
७६ वर्षको उमेरमा निधन भएका गुरुङलाई तमु धिं नेपालले गण्डकी प्रदेशको अभिभावक गुमाएको महसुस गरेको छ। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तमु समुदायबाट पहिलो प्रदेश प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका प्रजातन्त्रका सेनानी, निष्ठावान, हक्की स्वभावका वरिष्ठ समाजसेवी आदरणीय व्यक्तित्व पृथ्वीमान गुरुङको मिति २०८०२ साउन १० गते ७६ वर्षको उमेरमा भएको निधनले तमु धिं नेपाल एवं सम्पूर्ण तमु समुदायलाई दुखित बनाएको छ, अध्यक्ष हुमबहादुर गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा गुरुङलाई लोकतान्त्रिक आन्दोलनका नेतृत्वदायी क्रान्तिकारी योद्धा र आदिवासी जनजातिका मार्गदर्शक नक्षत्रको रूपमा स्मरण गरिएको छ। उहाँको निष्ठा, इमानदारीता र लगनशीलताको अनुसरण गर्न सके मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने विज्ञप्तिमा भनिएको छ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ घलेलमा जन्मिएर हाल चितवनको भरतपुर महानगरपालिका २६, दिव्यनगरमा बसोबास गर्दै आउनुभएका गुरुङको निधनले राष्ट्रलाई अपूरणीय क्षति पुगेको तमु धिंले जनाएको छ। संस्थाले स्वर्गीय गुरुङको आत्माको चीरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ