राष्ट्रिय सभा निर्वाचनको जोडघटाउ, गण्डकीमा कांग्रेस–एमाले गठबन्धनकै पल्लाभारी !

voiceofgandaki

पोखरा ।

राष्ट्रिय सभाका रिक्त १९ पदका लागि आगामी ११ माघमा हुने निर्वाचनको सरगर्मी बढेको छ । २०७६ सालको निर्वाचनबाट निर्वाचित सदस्यहरूको ६ वर्षे कार्यकाल फागुनमा सकिन लागेपछि नयाँ सदस्य 

छनोटका लागि निर्वाचन हुन लागेको हो । गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने २ सांसदको पनि पदावधि सकिँदै छ ।

आगामी फागुनमा बिदा हुने सांसदहरूमा एमालेका ८, माओवादी केन्द्रका ७, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका १–१ जना र मनोनित १ जना छन् । गण्डकीबाट प्रतिनिधित्व गर्ने तत्कालीन माओवादीका नारायणकाजी श्रेष्ठ र एमालेकी भगवती न्यौपानेको कार्यकाल सकिन लाग्दा अब उनीहरूको ठाउँमा को आउला भन्ने चर्चा सुरु भएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन अनुसार पद रिक्त हुनुभन्दा ३५ दिन अगावै निर्वाचन हुनुपर्ने व्यवस्था छ । २० फागुनमा कार्यकाल सकिने भए पनि निर्वाचन ११ माघमा तोकिएको छ । राष्ट्रिय सभामा एमालेको उपस्थितिलाई कमजोर बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई फकाउने प्रयास गरिरहेका छन् । तर कांग्रेसलाई भने एमालेभन्दा माओवादीसँग मिलेर जाँदा बढी फाइदा देखिन्छ । एमालेलाई थप कमजोर पार्न तत्कालीन माओवादी र हालको नेपाली कम्युनिष्ट पार्टीले थोरै सिट लिएर कांग्रेसलाई धेरै सिट दिन सकिने मनस्थिति बनाएका छन् । यद्यपि, मधेशबाहेक अन्य प्रदेशमा अहिले कांग्रेस र एमाले गठबन्धनको सरकार रहेकाले राष्ट्रिय सभा निर्वाचनमा पनि यही गठबन्धन नै कायम रहने सम्भावना बलियो छ ।

यस्तो छ गण्डकीको मतभार

राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश सभा सदस्यको ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको १९ मतभार तोकिएको छ । १ महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिका रहेको गण्डकी प्रदेशमा कुल १ सय ७० जना मतदाता छन् । प्रदेश सभातर्फ ५९ सदस्य छन् जसको मतभार ३ हजार १ सय २७ हुन्छ । स्थानीय तहका प्रतिनिधिको ३ हजार २ सय ३० गरी गण्डकीको कुल मतभार ६ हजार ४ सय १० हुन आउँछ ।

दलगत रूपमा हेर्दा गण्डकीमा नेपाली कांग्रेस सबैभन्दा बलियो छ । कांग्रेसका २७ प्रदेश सभा सदस्य (१ हजार ४ सय ३१ मतभार) र ६७ स्थानीय तहका प्रतिनिधि (१ हजार २ सय ७३ मतभार) गरी कुल २ हजार ७ सय ४ मतभार छ ।

दोस्रो ठूलो दल नेकपा एमालेसँग २२ प्रदेश सभा सदस्य (१ हजार १ सय ६६ मतभार) र ६८ स्थानीय तहका प्रतिनिधि छन् । एमालेका ढोरपाटन नगरपालिकाका मेयर देवबहादुर नेपाली निलम्बनमा परेकाले उनको १९ मतभार घट्दा एमालेको कुल मतभार २ हजार ४ सय ३९ हुन्छ ।

नेकपा माओवादीसँग ७ प्रदेश सभा सदस्य (३ सय ७१ मतभार) र ३० स्थानीय तहका प्रतिनिधि (५ सय ७० मतभार) गरी ९ सय ४१ मतभार छ । माओवादी र एकीकृत समाजवादी अहिले एउटै पार्टी बनेकाले पोखरा महानगरको एकीकृत समाजवादीको १९ मतभार थपिँदा नयाँ बनेको नेपाली कम्युनिष्ट पार्टीको कुल मतभार ९ सय ६० पुग्छ । माओवादीकै चिह्नबाट जितेका फणीन्द्र देवकोटा अहिले जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीमा प्रवेश गरेकाले उनको मत कता जान्छ भन्ने निश्चित छैन ।

राष्ट्रिय जनमोर्चाको ५७ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को १०६ मतभार छ । हाल गण्डकीमा कांग्रेस र एमालेको गठबन्धनलाई राप्रपा र फणीन्द्र देवकोटाको समेत समर्थन रहेको छ ।

निर्वाचन तालिका

निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालयहरू खुलिसकेका छन् । निर्वाचन आयोगको कार्यक्रम अनुसार १९ पुस बिहान १० देखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन हुनेछ । २२ पुसमा अन्तिम नामावली प्रकाशन भएपछि २३ पुस बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गरिनेछ । २७ पुसमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी २८ पुसमा निर्वाचन चिह्न प्रदान गरिनेछ । ११ माघ बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।





प्रतिक्रिया