जेनजी आन्दोलनमा भएको हिंसात्मक घटनाप्रति नेजाको भर्त्सना

भ्वाइस अफ गण्डकी

काठमाडौं ।  नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले नेपालमा जेनजी पुस्ताले आयोजना गरेको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाप्रति निन्दा र भर्त्सना गरेको छ ।

नेजाले प्रदर्शनका क्रममा प्रहरीको गोली लागी चार पत्रकार घाइते हुनु र थाहा खबरको कार्यालयमा तोडफोड हुनु प्रेस स्वतन्त्रतामाथिको आक्रमण भएको ठहर गर्दै त्यसप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । महासचिव ईश्वरी न्यौपानेका अनुसार  संघले नेपाल पत्रकार महासंघले जारी गरेको विज्ञप्तिप्रति पनि ऐक्यवद्धता जनाएको छ ।

प्रहरीको गोलीबाट घाइते हुने पत्रकारहरूमा श्याम श्रेष्ठ (कान्तिपुर टेलिभिजन), दीपेन्द्र ढुंगाना (नयाँ पत्रिका दैनिक), शम्भु दंगाल (स्वतन्त्र पत्रकार) र उमेश कार्की (नेपाल प्रेस) रहेका छन् । उनीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै नेजाले सरकारलाई निःशुल्क उपचारको व्यवस्था गर्न आग्रह गरेको छ ।

थाहा खबरको कार्यालयमा ढुंगा प्रहार गरी तोडफोड भएको घटनाप्रति दुःख व्यक्त गर्दै नेजाले क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ । साथै, प्रहरीको अत्यधिक बल प्रयोगका कारण धेरै प्रदर्शनकारीको मृत्यु हुनु दुःखद भएको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ ।

“शान्तिपूर्ण प्रदर्शन नागरिकको नैसर्गिक अधिकार हो । तर, सरकारको चरम दमनकारी नीतिका कारण पत्रकारलगायत नागरिक घाइते भएका छन्,” विज्ञप्तिमा भनिएको छ । नेजाले प्रदर्शनलाई हिंस्रक नबनाई वार्तामार्फत समाधान खोज्न सम्बन्धित सबै पक्षलाई संयमित र जिम्मेवार हुन आह्वान गरेको छ ।

प्रतिक्रिया