सरुवा निर्देशिका खारेजीको माग गर्दै शिक्षकहरूद्वारा आमरण अनसनको चेतावनी

voiceofgandaki

काठमाडौं— सरुवा पीडित शिक्षकहरूले २०८१ सालमा जारी गरिएको सरुवा निर्देशिका खारेजीको माग गर्दै कडा आन्दोलनको घोषणा गरेका छन् । पीडित शिक्षक केन्द्रीय संघर्ष समितिले काठमाडौंमा आफ्नो धारणा सार्वजनिक गर्दै निर्देशिका खारेज वा परिमार्जन नभए मंसिरको दोस्रो सातादेखि राजधानी केन्द्रित आन्दोलन सुरु गर्ने चेतावनी दिएको हो ।

समितिका अध्यक्ष नेत्रलाल भट्टराईले सरकारले तत्काल माग सम्बोधन नगरे आफूहरूको आन्दोलन निर्णायक हुने बताए । उनले भने, ‘निर्देशिका तुरुन्तै खारेज वा परिमार्जन नभए हाम्रो अन्तिम लडाइँ मंसिर महिनाको दोस्रो हप्तादेखि काठमाडौँ केन्द्रित रहेर आमरण अनसन लगायत सडक आन्दोलनको रूपमा अगाडि बढ्नेछ ।’ तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठको कार्यकालमा जारी भएको उक्त निर्देशिकाले ज्येष्ठताको आधारमा सरुवा गर्दा नयाँ शिक्षकहरू मर्कामा परेको भन्दै उनीहरूले विरोध गर्दै आएका छन् ।

यही असन्तुष्टिका बिच शिक्षकहरूले निर्देशिका खारेजीको माग राख्दै अदालतमा मुद्दासमेत दायर गरेका छन् । शिक्षामन्त्री महावीर पुनले निर्देशिका संशोधनको पहल गर्न खोजे पनि अदालतमा मुद्दा विचाराधीन रहेकाले फिर्ता लिन आग्रह गरेका छन् । तर, पीडित शिक्षकहरूले भने निर्देशिका संशोधन गर्न अदालतको मुद्दाले कुनै असर नगर्ने तर्क गरेका छन् । उनीहरूले मुद्दा यथावत् राखेरै पनि सरकारले निर्देशिका सच्याउन सक्ने बताएका छन् ।

प्रतिक्रिया