कीर्तिपुरमा पहिलो पटक ‘हेरिटेज वाक’

voiceofgandaki

काठमाडौं । 

नेपाल-युएस अलम्नाई नेटवर्क (नुसान) ले कीर्तिपुर नगरपालिकासँगको साझेदारीमा सांस्कृतिक संरक्षण, नागरिक सहभागिता र स्थानीय आर्थिक अवसरलाई प्रवर्धन गर्न ऐतिहासिक कीर्तिपुर शहरमा पहिलो पटक ‘हेरिटेज वाक’ को आयोजना गर्‍यो।

उक्त कार्यक्रममा चार्ज डी’अफेयर्स जेसन मिक्स, सांस्कृतिक मामिला अधिकृत एरिका अलेक्जेन्डर, अमेरिकी सरकारका कार्यक्रमका ४० जनाभन्दा बढी पूर्व सहभागी, नगरपालिकाका पदाधिकारी र अमेरिकी नियोगका कर्मचारीले कीर्तिपुरका सातवटा प्रतिष्ठित स्थलको भ्रमण गरे।


कार्यक्रमको समापनमा परम्परागत नेवारी संगीत, नृत्य र परिकार प्रस्तुत गरिएको थियो। यसले अमेरिकाद्वारा लगानी गरिएको सांस्कृतिक संरक्षण परियोजनामा कीर्तिपुरको साझेदारीलाई पुनः पुष्टि गरेको छ। साथै, यसले नेपालको सम्पदा क्षेत्रमा अमेरिकाको दीर्घकालीन सहयोगलाई समेत उजागर गरेको छ।

सो अवसरमा चार्ज डी’अफेयर्स मिक्सले यो पहलले दिगो पर्यटनलाई सहयोग गर्ने, सम्पदामा आधारित उद्यमशीलतालाई सशक्त बनाउने र जनस्तरको सम्बन्धलाई सुदृढ गर्ने जस्ता अमेरिकाका मुख्य प्राथमिकताहरूलाई प्रतिबिम्बित गरेको बताए।

यो ‘हेरिटेज वाक’ ले अमेरिका–नेपालबीचको ७८ वर्ष लामो मित्रता र दुवै राष्ट्रको थप सुमधुर, सुरक्षित र समृद्ध भविष्यप्रतिको साझा प्रतिबद्धतालाई समेत दर्शाएको छ।


प्रतिक्रिया