स्याङ्जा । पुतलीबजार नगरपालिकामा सम्पन्न आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि रोशनी आवासीय माध्यमिक विद्यालयले हात पारेको छ । फराकिलो अन्तरसहित सर्वाधिक पदक जित्दै रोशनी माविले लगातार तेस्रो पटक उपाधि जितेर रनिङ शिल्डमाथि सधैँका लागि कब्जा जमाएको हो ।
नगर शिक्षा प्रमुख बाबुराम बरालका अनुसार प्रतियोगितामा रोशनी माविले १९ स्वर्ण, ३ रजत र ४ कास्य पदक प्राप्त गर्यो । प्रतियोगितामा वडा नम्बर ६ स्थित हिमालय माध्यमिक विद्यालय ५ स्वर्ण र १ रजत पदकसहित दोस्रो भयो । यस्तै, २ स्वर्ण, ५ रजत र ३ कास्य पदक जित्दै स्याङ्जा माध्यमिक विद्यालयले तेस्रो स्थान सुरक्षित गर्यो । विजेता विद्यालयहरूलाई नगद, रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
मालेबगर खेलमैदानमा सञ्चालित प्रतियोगितामा नगरभित्रका २४ विद्यालयका १ हजार २ सय ८० विद्यार्थी सहभागी थिए । कुल ३० स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा भलिबल, एथलेटिक्स, ट्रिपल जम्प, लङ जम्प, हाई जम्प, ज्याभलिन थ्रो, सटपुट र कबड्डी लगायतका विधा समावेश गरिएको थियो ।
विजेता खेलाडी तथा विद्यालयलाई पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले पुरस्कार वितरण गरे । पुरस्कार वितरण गर्दै नगरप्रमुख रेग्मीले खेलकुदले विद्यार्थीमा आत्मविश्वास, नेतृत्व क्षमता र अनुशासन विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
२९ मङ्सिर २०८२, आईतबार ११:५३ मा प्रकाशित