म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीका उम्मेदवारले जिल्लाको पश्चिमी क्षेत्र भएर ढोरपाटन हुँदै पूर्वी रुकुम जोड्ने वैकल्पिक सडक निर्माणलाई मुख्य चुनावी एजेन्डा बनाएका छन् ।
मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको तुलनामा म्याग्दी भएर ढोरपाटन हुँदै पूर्वी रुकुम पुग्ने सडक ६५ देखि ७० किलोमिटर छोटो पर्छ । दूरी छोटो पर्ने भएकाले वैकल्पिक सडक बनाउन सके पर्यटन, सामाजिक तथा आर्थिक क्षेत्रमा कायापलट हुने नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार अर्जुन थापाले बताए ।
यसअघिका तीनवटा निर्वाचनमा दलहरूले सदरमुकाम बेनीबाट उत्तरी क्षेत्रको रघुगंगा र अन्नपूर्ण गाउँपालिका हुँदै मुस्ताङको कोरला नाका जोड्ने सडकलाई प्राथमिकता दिएका थिए । उक्त प्रतिबद्धता पूरा भएपछि अहिले नेताहरूले राहुघाट–म्याग्दी चक्रपथ र ढोरपाटन हुँदै पूर्वी रुकुम जोड्ने मार्गलाई मुद्दा बनाएका हुन् ।
बेनीबाट घतान, पात्लेखेत, झिँ, पाखापानी, ठाडाखानी, कुइनेमंगले, मल्कवाङ, मराङ, बिम, दरबाङ हुँदै बेनीसम्मका ५ वटा स्थानीय तह समेट्ने राहुघाट–म्याग्दी चक्रपथ आयोजना पनि प्राथमिकतामा परेको छ ।
नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारीले बेनी–जोमसोम–कोरला सडक सहज हुँदा वार्षिक ८ लाखभन्दा बढी पर्यटक भित्रिएको उदाहरण दिँदै पश्चिमी र राहुघाट क्षेत्रमा पूर्वाधार बढाए बसाइँसराइ रोकिने र रोजगारी सिर्जना हुने बताए ।
नेकपा (एमाले) का उम्मेदवार हरिकृष्ण श्रेष्ठले नागरिकको माग र स्थानीय आवश्यकताका आधारमा रणनीतिक महत्त्वका सडक योजनालाई प्राथमिकता दिने उल्लेख गरे ।
बेनीबाट ७५ किलोमिटर यात्रा गरेर ढोरपाटन पुग्न सकिने यो सडकलाई पश्चिम म्याग्दीको विकासको आधार मानिएको छ । हाल प्रयोगमा रहेको बागलुङबाट ढोरपाटन जोड्ने सडकको दूरी १ सय २६ किलोमिटर छ । विसं २०५५ मा निर्माण सुरु भएको यो सडकको बेनी–मुना–खोरिया–मरेनी हुँदै जलजलासम्म करिब ६४ किलोमिटर मार्ग यसै वर्ष खुलेको हो ।
पूर्वी रुकुमको तकसेराबाट ढोरपाटनको निसिलढोरसम्म ८ किलोमिटर सडक जोडिन बाँकी छ । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले पर्यटक तथा स्थानीयका लागि छोटो पर्ने यो मार्ग खुलाउनु जिल्लाको साझा मुद्दा बनेको बताए ।
प्रदेश सरकारले दरबाङबाट ताकम मुना जोड्ने करिब १७ किलोमिटर सडक स्तरोन्नति गर्न दुई वटा शीर्षकमा योजना सञ्चालन गरेको छ । पूर्वी रुकुम, म्याग्दी र बागलुङ जिल्लाको १ हजार ३२५ वर्गमिटर क्षेत्रफलमा फैलिएको नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन पछिल्लो समय आन्तरिक पर्यटकको पनि रोजाइमा परेको छ ।
५ फाल्गुण २०८२, मङ्गलबार ०५:४५ मा प्रकाशित