पोखरा ।
गण्डकी प्रदेशको राजधानीसमेत रहेको कस्कीको पोखरा महानगरमा रहेका २७ प्रहरी कार्यालयमा जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाट भएको छ । आन्दोलनकारीले भदौ २४ गते जिल्ला प्रहरी कार्यालय कास्कीसमेत नियन्त्रणमा लिएर आगजनी र तोडफोड गरेका थिए ।
सोही दिन जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की, प्रहरी चौकी छोरेपाटन, प्रहरी चौकी बगर, गगनगौंडा प्रहरी चौकीसहित बिट र आइलेनहरुसमेत तोडफोड र आगजनी गरेका थिए । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले प्रहरी कार्यालयमा प्रहरीहरु ड्युटीमा गइसकेको जानकारी दिए ।
‘पुनस्र्थापित हुने क्रममा छौँ, अहिले सबै कार्यालयमा प्रहरीहरु पुगिसकेका छन्,’ उनी भन्छन्, ‘सँगसँगै हामीले कार्यालयहरु निर्माण पनि सुरु गरेका छौँ । स्थानीयले सहयोग पनि गरिरहनुभएको छ ।’ पालिकाहरुमा रहेका प्रहरी चौकीहरु भने सुरक्षित गरे ।
पोखरा महानगरमै रहेका वडा प्रहरी कार्यालय बैदाम, वडा प्रहरी कार्यालय रामबजार र इलाका प्रहरी कार्यालय शिशुवामा कुनै क्षति भएको छैन । आन्दोलनका क्रममा ३५ प्रहरी घाइते भएको जनाउँदै प्रहरी उपरीक्षक ओलियाले सबै उपचारपछि डिस्चार्ज भइसकेको सुनाए ।
जिल्ला प्रहरी कार्यालय कास्कीसहितका कार्यालयको हिरासतबाट भदौ २४ गते ६१ थुनुवा निस्केका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले मंगलबारसम्म कुनै थुनुवा पनि हिरासतमा नरहेको उल्लेख गरे । ‘अहिले हिरासत खाली छन्, राख्न सक्ने अवस्था भइसकेको छैन । केही सम्पर्कमा आउनुभएको छ, अब उतै फाइल पठाएर अदालत आउन भन्छौं,’ उनले भने ।
आन्दोलनका क्रममा कास्की प्रहरीका ४ चार पाङ्ग्रे गाडी जलेका छन् भने केही मोटरसाइकल पनि जलेका छन् । कास्की प्रहरी प्रमुख ओलियाले केही हतियारसमेत हराएको जानकारी दिँदै ती हतियारको खोजी भइरहेको उल्लेख गरे ।