स्याङ्जा–१ मा कांग्रेस–एमालेको गढ भत्कियो : १० हजार मतान्तरले रास्वपाका धनञ्जय रेग्मी विजयी

voiceofgandaki

स्याङ्जा ।  नेपाली कांग्रेस र नेकपा (एमाले) को परम्परागत गढ मानिने स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सानदार जित निकालेको छ । पुराना दलहरूलाई पछि पार्दै रास्वपाका उम्मेदवार धनञ्जय रेग्मी फराकिलो मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

रेग्मीले २९ हजार ७१ मत प्राप्त गरी जित हासिल गरे । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार भरतराज ढकालले १८ हजार ८५७ मत प्राप्त गरे । रेग्मीले कांग्रेस उम्मेदवार ढकाललाई १० हजार २१४ मतको भारी अन्तरले पराजित गरेका हुन् ।

यस क्षेत्रमा नेकपा (एमाले) का उम्मेदवार मीनप्रसाद गुरुङ तेस्रो स्थानमा सीमित भए । उनले १६ हजार ८०४ मत प्राप्त गरे ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कम्युनिस्ट पार्टीका शैलेन्द्र घिमिरेले १ हजार ५५२ मत ल्याए । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का हुकुमबहादुर रानाले ६९८, श्रम संस्कृति पार्टीका पिरन गुरुङले ४८९ र मंगोल नेसनल अर्गनाइजेसनका यामबहादुर गुरुङले २१६ मत प्राप्त गरे ।

उज्यालो नेपाल पार्टीका रबिन्द्र मल्लले १७६, नेसनल रिपब्लिक नेपालका अर्जुनकुमार गुरुङले ६१, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का सोमबहादुर परियारले ५७, प्रगतिशील लोकतान्त्रिक पार्टीका रनबहादुर विश्वकर्माले ३० र स्वतन्त्र उम्मेदवार अशोक विष्टले २५ मत प्राप्त गरे ।

बिहीबार बिहान ५ बजे मतगणना सम्पन्न भएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रूपमा रेग्मीलाई विजयी घोषणा गरेको हो ।

प्रतिक्रिया