दुधपोखरीमा बेपत्ता युवकको खोजीमा हेलिकप्टरमार्फत गोताखोर परिचालन

voiceofgandaki

लमजुङ – लमजुङको मर्स्याङदी गाउँपालिका–३ स्थित दुधपोखरी कुण्डमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका युवकको खोजीका लागि हेलिकप्टरमार्फत गोताखोर टोली परिचालन गरिएको छ ।

साउन २४ गते पोखरीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका मर्स्याङदी गाउँपालिका–४ भुजुङ बस्ने १८ वर्षीय मनोज गुरुङको खोजीका लागि असोज १० गते एयर डाइनेस्टिको हेलिकप्टरमार्फत सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण पोखराबाट ४ जनाको गोताखोर टोली परिचालन गरिएको हो ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार दुर्गम क्षेत्र र गहिरो पोखरी भएकाले हेलिकप्टरमार्फत मात्र गोताखोर पठाउन सम्भव भएको हो । उनले भने, ‘स्थानीय र सुरक्षाकर्मीले लगातार खोजी गरे पनि सफलता नपाएपछि विशेषज्ञ गोताखोर टोली परिचालन गरिएको छ ।’

हाल गोताखोर टोलीले पोखरीमा निरन्तर खोजी कार्य जारी राखेको र परिणामको प्रतीक्षा भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया