घुस काण्डमा पोखरा ३ का वडाध्यक्षको राजीनामा माग

भ्वाइस अफ गण्डकी

पोखरा ।

नेकपा (एमाले) पोखरा महानगरपालिका वडा कमिटी ३ ले नदीपुरकी मीना पुनसँग ३ लाख घुस मागेको घटनामा वडाध्यक्ष प्रकाशमान उदास र सदस्यको राजीनामा माग गरेको छ । सो काण्डले जनप्रतिनिधिको जिम्मेवारीपना र औचित्यता समाप्त भएको दाबी गर्दै एमालेले वडाबासीको चाहना अनुसार वडा अध्यक्ष उदास र सदस्यले नैतिकताको आधारमा राजीनामा दिन माग गरेको हो । 

एमाले पोखरा ३का वडा कमिटीका अध्यक्ष विष्णुशंकर ख्वाउँजूले प्रेस विज्ञप्ति निकालेर सो काण्डमा वडा अध्यक्ष उदासले मिलेमतोमा आफू स्वयं मुछिएको स्वीकारेको अवस्थामा संलग्न जनप्रतिनिधि र कर्मचारी उत्तिकै दोषी भएको दाबी गरे । ‘यो वडा कार्यालयमा भएको प्रतिनिधिमूलक घटना हो,’ विज्ञप्तिमा भनिएको छ, ‘विगतमा र अहिले समेत वडाबासी ढिलासुस्ती, घुस प्रकरण र भ्रष्टाचारबाट आजित छन् ।’ विज्ञप्तिमा वडा कार्यालयको निर्णय पुस्तिकामा लेखिएका निर्णय भएर लेखिएका विषयबाहेक पछि अध्यक्ष उदास र सचिवको मिलेमतोमा थपघट गर्ने, च्यात्ने र लुकाउने जस्ता गैर कानुनी काम भएको आरोप लगाइएको छ । 

वडा सचिव चन्द्रावती वाग्ले हँुदासमेत आर्थिक अपचलनका घटना भएको दाबी गर्दै विज्ञप्तिमा वडा सदस्यहरु सनकमान सिके र नवीन आलेले वडा सचिव र अध्यक्ष उदासको घर पसलमा वडा कार्यालयको काम हुने समेत सामाजिक सञ्जालमा संगीन आरोप लगाएको उल्लेख छ । 

वडाध्यक्ष उदाससहित वडा सदस्यले ३ वर्षको अवधिमा जनताको भन्दा पनि तलत्र खानेमात्र काम गरेको आरोप लगाउँदै एमालेले ३ लाख घुस प्रकरणमा वडा अध्यक्ष उदास लगायत संलग्न सबैलाई छानबिनको दायरामा ल्याउन माग गरेको छ । 


प्रतिक्रिया