लमजुङ– नेकपा (एमाले) को मंसिर २७ गतेदेखि सुरु हुने ११ औं राष्ट्रिय महाधिवेशनमा लमजुङबाट एक दर्जनभन्दा बढी नेताले केन्द्रीय नेतृत्वमा दाबी गरेका छन् । पदाधिकारी र केन्द्रीय सदस्य गरी अहिलेसम्म १४ जना नेताले आकांक्षा देखाएका हुन् ।
एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले महासचिव पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । उनले यसअघि नै सार्वजनिक रूपमा महासचिवमा आफ्नो दाबी रहने घोषणा गरिसकेका छन् ।
हाल केन्द्रीय सदस्य रहेका टुका हमाल, जमिन्द्रमान घले, डा. भीष्म अधिकारी र कल्पना थापाले यसपटक पनि सोही पदमा दोहोरिने इच्छा व्यक्त गरेका छन् ।
यस्तै, केन्द्रीय अनुशासन आयोगका सदस्य मायानाथ अधिकारी, गण्डकी प्रदेश सचिव धनञ्जय दवाडी, लमजुङका निवर्तमान अध्यक्ष कृष्णप्रसाद अधिकारी र किसान महासंघ गण्डकीका अध्यक्ष गोवर्धन गौलीले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
महिलातर्फ गण्डकी प्रदेश सांसद यशोदा रिमाल र लक्ष्मी अधिकारीले तयारी थालेका छन् । उत्पीडित दलित कोटामा गण्डकी प्रदेश सदस्य नन्दराम विक र युवा कोटामा हीरालाल विश्वकर्माले पनि उम्मेदवारी दिने बताएका छन् ।
१८ जना प्रतिनिधि सहभागी हुँदै
महाधिवेशनका लागि लमजुङबाट भूगोल, आयोजक समिति, प्रदेश कमिटी र जनवर्गीय संगठन गरी कुल १८ जना प्रतिनिधि छनोट भएका छन् ।
जिल्लाबाट मतदान प्रक्रियामार्फत अध्यक्ष राजकुमार विष्टसहित सुभाष पौडेल, कृष्णप्रसाद अधिकारी, युवराज अधिकारी, यशोदा रिमाल, पद्मा गुरुङ, लक्ष्मी अधिकारी, हीरालाल विश्वकर्मा, नन्दराम विश्वकर्मा र जुन तामाङ चुनिएका हुन् ।
उपमहासचिव गुरुङ, टुका हमाल, जमिन्द्रमान घले, डा. भीष्मनाथ अधिकारी, कल्पना थापा र मायानाथ अधिकारी स्वतः प्रतिनिधि बनेका छन् । यस्तै, धनञ्जय दवाडी, प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश पाण्डे र गोवर्धन गौली पनि महाधिवेशन प्रतिनिधि छन् ।
२६ मङ्सिर २०८२, बिहिबार ०५:५८ मा प्रकाशित