रौतहटमा डकुमेन्ट्रीका नाममा १० लाख भ्रष्टाचार : प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध मुद्दा

भ्वाइस अफ गण्डकी

काठमाडौं  ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको कटहरिया नगरपालिकामा डकुमेन्ट्री निर्माणका नाममा भएको भ्रष्टाचार प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । सरकारी रकम हिनामिना गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध आरोपपत्र दायर गरिएको हो ।

आयोगका अनुसार आर्थिक वर्ष २०७७–७८ मा नगरसभाबाट स्वीकृत नै नभएको कार्यक्रम सञ्चालन गरिएको थियो । जनचेतनामूलक भिडियो बनाउने बहानामा ‘सरिता फाउन्डेशन’ सँग मिलेमतो गरी भ्रष्टाचार गरेको आयोगको ठहर छ । अनुसन्धानमा ९ लाख ९८ हजार ९२१ रुपैयाँ हिनामिना भएको पाइएको छ ।

फाउन्डेशनसँग सम्झौता गर्दा प्रक्रिया मिचिएको छ । प्रतिस्पर्धामा सबैभन्दा बढी अंक दिएर छनोट गरिएको र सुरुमै ५० प्रतिशत पेस्की उपलब्ध गराइएको पाइएको छ । आयोगका अनुसार लागत अनुमान बदनियतपूर्ण तरिकाले तयार पारिएको थियो । भिडियो निर्माणका लागि आवश्यक स्क्रिप्ट, उपकरण र गुणस्तरको मापदण्डसमेत तोकिएको थिएन । काम सम्पन्न गर्ने म्याद सकिएर अर्को आर्थिक वर्षमा मात्र भुक्तानी दिइएको थियो ।

बनाइएका ४ वटा डकुमेन्ट्रीमा जनचेतनाको विषयवस्तु स्पष्ट छैन । ती भिडियो नगर प्रमुखको प्रचारबाजीजस्तो देखिएको र कतै पनि प्रसारण नगरिएको आयोगले जनाएको छ । गुणस्तरहीन काम गरेर सरकारी सम्पत्ति दुरुपयोग गरेको पुष्टि भएपछि मुद्दा चलाइएको हो ।

मुद्दा दायर गरिएकाहरूमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, सहायक लेखापाल विवेककुमार सहनी, सहायकस्तर पाँचौं रामनरेशप्रसाद यादव, सहायक कम्प्युटर अपरेटर उमेशकुमार दास तत्मा छन् । यस्तै तत्कालीन खरिदारद्वय कौशलकिशोर चौधरी र छोटेलाल मिश्र तथा सरिता फाउन्डेशनकी निर्देशक सरिताकुमारी साहलाई पनि प्रतिवादी बनाइएको छ ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कैद, जरिवाना र बिगो असुलको माग गर्दै अदालतमा मुद्दा पेस गरिएको बताए ।

प्रतिक्रिया