कांग्रेस बैठक फेरि सर्यो, महाधिवेशनको किचलोले अन्योल, सोमबार बस्ने
voiceofgandaki
१४ मङ्सिर २०८२, शनिवार
काठमाडौं ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पुनः सरेको छ । आइतबार दिउँसो बस्ने भनिएको बैठक सोमबारका लागि सारिएको हो । महाधिवेशनको कार्यतालिका र आन्तरिक विवाद नमिल्दा बैठक पटक–पटक सर्दै आएको छ ।
पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार अब बैठक सोमबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा आमन्त्रित सदस्यहरूको सहभागिता रहनेछ । विशेष कारण देखाउँदै बैठक सारिए पनि भित्री कारण भने नेताहरूबिचको सहमति जुट्न नसक्नु हो ।
कांग्रेसभित्र यतिबेला १५ औं महाधिवेशनको विषयले किचलो निम्त्याएको छ । संस्थापन पक्ष (सभापति शेरबहादुर देउवा समूह) र इतर पक्ष (शेखर–गगन समूह) बिच महाधिवेशनको कार्यतालिकालाई लिएर मतभेद कायमै छ । इतर पक्षले विधानसम्मत समयमै महाधिवेशन गर्नुपर्ने र तत्काल कार्यतालिका सार्वजनिक गर्नुपर्ने अडान राख्दै आएको छ । उनीहरूले नेतृत्वले विधानले दिएको विशेष अधिकार प्रयोग गरेर महाधिवेशन पर धकेल्न खोजेको आरोप लगाउँदै आएका छन् ।
अर्कोतिर क्रियाशील सदस्यताको विषय पनि पेचिलो बनेको छ । नयाँ सदस्यता वितरण र नवीकरणको मापदण्डमा दुई पक्षबिच कुरा मिलेको छैन । महासमिति बैठकले पारित गरेका प्रस्तावहरूको कार्यान्वयन र भ्रातृ संस्थाहरूको तदर्थ समितिको म्याद थप वा अधिवेशन भन्ने विषयमा पनि विवाद छ । विभाग गठनमा भएको ढिलासुस्तीले पनि पार्टीभित्र असन्तुष्टि चुलिएको छ । यी विषयमा शीर्ष नेताहरूबिच प्याकेजमै सहमति खोज्ने प्रयास भइरहेकाले बैठक बारम्बार सर्दै आएको स्रोतको दाबी छ ।