पोखरा – गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यले नेपाल प्रहरीले जस्तोसुकै चुनौती पनि सामना गर्न सक्षम रहेको बताएका छन्।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा, पोखरा–९, पृथ्वीचोकद्वारा विजयादशमीको अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले प्रहरीप्रति समाजको सहकार्य र विश्वास अपरिहार्य भएकोमा जोड दिए।
‘यतिखेर प्रहरी बस्ने संरचनासमेत जलेका छन्, सवारीसाधन छैनन् । तथापि, सीमित स्रोतसाधनकै बीच पनि प्रहरीले सक्दो सेवा दिइरहेको छ,’ उनले भने। डीआईजी आचार्यले समाजमा शान्ति–सुरक्षा कायम राख्न सामुदायिक प्रहरी सेवाको भूमिका महत्वपूर्ण हुने धारणा राखे।
कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले विधिको शासनलाई मजबुत बनाउनुपर्नेमा जोड दिँदै समय र स्रोतको दुरुपयोग नगर्न आग्रह गरे। सामुदायिक प्रहरी सेवा केन्द्र कास्कीका अध्यक्ष भीम पराजुलीले देशमा विषम परिस्थिति आएको भन्दै कार्यक्रमहरू छिटोछरितो र मितव्ययी ढंगले गर्नुपर्ने बताए।
हेमजा सामुदायिकका अध्यक्ष देवीप्रसाद अधिकारीले सामुदायिक प्रहरी सेवा केन्द्रको मुख्य भूमिका घटना घटेपछि मात्रै कारबाही गर्ने नभई घटना हुनै नदिने वातावरण सिर्जना गर्नु रहेको उल्लेख गरे।
पूर्व अध्यक्ष तथा सल्लाहकार धर्मदत्त आचार्यले प्रत्येक वर्ष विजयादशमीअगाडि शुभकामना कार्यक्रम गर्दै आएको जानकारी दिए। अध्यक्षको आसनबाट बोल्दै सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा, पृथ्वीचोककी अध्यक्ष कुमारी मुना बास्तोलाले विकृति–विसंगति न्यूनीकरणका लागि सचेतनामूलक विविध कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिइन्।
कार्यक्रममा ऊर्जाशील महिला समूहकी अध्यक्ष कान्ता अधिकारीले समसामयिक कविता वाचन गरिन्। उपाध्यक्ष उत्तम जोशीले स्वागत मन्तव्य राखेका थिए भने सचिव तीर्थ शर्मा ढकालले कार्यक्रम सञ्चालन गरेका थिए।