पोखरा ।
परम्परागत कृषि प्रणालीको संरक्षण र पर्यटन प्रवर्धन गर्ने उद्देश्यले पोखरामा ‘दाइँ महोत्सव’ सम्पन्न भएको छ । पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरा महानगरपालिका–१९ पुरुन्चौरस्थित चुरुङ्गा फाँटमा दोस्रो संस्करणको दाइँ महोत्सव आयोजना गरिएको हो ।
अन्नपूर्ण र माछापुच्छ्रे हिमशृंखलाको काखमा आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले परालको कुन्युको 'जिरो' फालेर उद्घाटन गरे । विगत २१ वर्षदेखि असारे रोपाइँ महोत्सव आयोजना गर्दै आएको परिषद्ले गत वर्षदेखि धान थन्क्याउने परम्परागत सीप प्रदर्शन गर्न दाइँ महोत्सव सुरु गरेको हो ।
कार्यक्रममा बोल्दै महानगर प्रमुख आचार्यले रोपाइँ महोत्सवजस्तै दाइँ महोत्सव पनि पोखराको पर्यटनका लागि नयाँ ‘प्रोडक्ट’ बन्न सक्ने बताए । पोखरालाई 'इभेन्ट' को सहरका रूपमा विकास गर्न यस्ता मेला महोत्सवले सघाउ पुर्याउने उनको भनाइ थियो । कृषिमा यान्त्रिकीकरण बढ्दै गए पनि पर्यटक र भावी पुस्तालाई जानकारी दिन परम्परागत दाइँ गर्ने चलनलाई जीवित राख्नुपर्नेमा उनले जोड दिए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले परम्परागत कृषि प्रणाली जोगाउँदै पर्यटन प्रवर्धनमा टेवा पुर्याउन महोत्सव आयोजना गरिएको बताए । ‘विदेशी पर्यटकलाई धान रोपेपछि यसको कटानी र भित्र्याउने प्रक्रिया (हार्भेस्टिङ) कसरी गरिन्छ भनेर देखाउन र नयाँ पुस्तालाई मौलिक परम्परा हस्तान्तरण गर्न महोत्सवलाई निरन्तरता दिएका हौँ,’ पहारीले भने ।
महोत्सवमा ५ हल गोरु नारेर परम्परागत रूपमा दाइँ गरिएको थियो । उक्त दृश्य अवलोकन गर्न र अनुभव लिन आन्तरिक तथा बाह्य पर्यटक, स्थानीय बासिन्दा र पर्यटन व्यवसायीको उल्लेख्य उपस्थिति थियो ।
महोत्सवअन्तर्गत धान चुट्ने, गुन्द्री बुन्ने र परालको भारी बाँध्ने लगायतका प्रतियोगिताहरू सञ्चालन गरिएको थियो । सो अवसरमा पोखरा महानगरपालिका कृषि महाशाखाको समन्वयमा उत्कृष्ट धान उत्पादक कृषकहरूलाई सम्मान समेत गरिएको छ । यस वर्ष पोखरामा सबैभन्दा बढी धान उत्पादन गर्ने पोखरा–२३ का कृषक खगेन्द्रप्रसाद गुरुङ प्रथम हुँदै ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । त्यस्तै, पोखरा–१३ का मिलन अधिकारी द्वितीय र पोखरा–२३ का बालकृष्ण भण्डारी तृतीय घोषित भए ।
महोत्सवका दाइँ संयोजक उमनाथ गौतमले बढ्दो यान्त्रिकीकरणका कारण गाउँघरबाट गोरु र परम्परागत दाइँ हराउँदै गएकोमा चिन्ता व्यक्त गरे । उनले महोत्सवका लागि गोरु खोज्न अन्यत्र गाउँ जानुपरेको यथार्थ सुनाउँदै यस्ता कार्यक्रमले रैथाने पद्धतिको संरक्षणमा मद्दत पुग्ने बताए ।
स्थानीय आयोजक चुरुङ्गा टोल विकास संस्थाका अध्यक्ष दयाराम गौतमले महोत्सवले ओझेलमा परेको पर्यटकीय गन्तव्य चुरुङ्गा र पुरुन्चौर क्षेत्रको प्रचारप्रसारमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।
महोत्सव संयोजक हरि भुजेलले रोपाइँ महोत्सवमा सहभागी पर्यटकले उत्पादन प्रक्रियाबारे चासो राखेपछि दाइँ महोत्सवको अवधारणा ल्याइएको स्पष्ट पारे । पहिलो संस्करणको तुलनामा यस वर्ष पर्यटकको सहभागिता बढेको बताउँदै उनले यसलाई ‘क्यालेन्डर इभेन्ट’ का रूपमा विकास गरिने जानकारी दिए ।
१४ मङ्सिर २०८२, शनिवार ०६:४४ मा प्रकाशित