सुनिल उलक
गण्डकी बोर्डिङ स्कुलको ६०औं स्थापना दिवसको अवसरमा सम्पूर्ण बिद्यार्थी तथा विद्यालय परिवारमा हार्दिक शुभकामना ।
यो नाम परिवर्तन भइसकेको हुदा त्यति परिचित नहुन सक्छ । तर गण्डकी बोर्डिङ स्कुल भनियो भने जो कोहीको चिर परिचित नाम हुन सक्छ ।
पोखरामा धेरै बिद्यालय खुलिसके पनि एउटा स्तरिय अंग्रेजी पठनपाठन हुने बिद्यालयको खाँचो थियो । यहि भएर वाटुलेचौरको छिमेकी गाँउ अर्मलाका लक्षबहादुर गुरूङ अञ्चल पञ्चायतका सभापति भएको समयमा राम्रो बिद्यालय खोल्ने सोच्नु भयो । जसको लागि उहाँ लागी रहनु भएकै थियो । त्यहि समयमा युएमएन भन्ने सस्था नेपालमा प्रवेश गरिसकेको थियो । बि.सं. २०१७ सालमा नै गोरखामा मिसनरी स्कुलको शुरूवात गरिसकेका थिए । त्यसैले थापाथलीमा रहेको युएमएनको कार्यालयमा निर्देशक जोनाथन लिण्डेलसंग भेटी लक्षबहादुर गुरुङले आफ्नो चाहना सुनाउनु भयो, लिण्डेलबाट सकारात्मक जवाफ प्राप्त भएपछि भौतिक पूर्वाधारको तैयारी थाल्नुभयो । राष्ट्रिय पञ्चायतका अध्यक्ष राजेश्वर देवकोटा, अञ्चलाधिश नन्दबहादुर मल्ल तथा शिक्षा निरिक्षक बिन्दु नेपालीसंगको छलफल पछि बिद्यालयको लागी जग्गा खोज्नको लागी गाँउलेसंग सल्लाह गर्न पुग्नुभयो ।
युनाइटेड मिशन टु नेपालको बाहिरी उद्धेश्य सामाजिक सेवा भएपनि भित्री उद्धेश्य धर्म प्रचार नै थियो । बेलायतमा पनि मिशनरीको रूपमा बिभिन्न स्थानमा सामाजिक सेवा गर्दै धर्मप्रचार गरिरहेको मिशनबाट नै सञ्चालित युनाइटेड मिशन टु नेपालले पनि आफ्नो उद्धेश्य पुरा हुन सक्ने सम्भावना देखेर नै तत्कालै स्विकृती दिएका थिए ।
बाटुलेचौर गाँउ पञ्चायतको दिप देखी काजीको खोरसम्म ठूलो चौर थियो । झण्डै दुइ कि.मी.लामो यो चौरलाई लामाचौर भनिन्थ्यो । यसै गाँउका जिम्मावाल मुखिया तोरणबहादुर खत्री समाजसेवी तथा शिक्षाप्रेमी हुनुहुन्थ्यो । उहाँलाई आफ्नो मनसाय प्रकट गर्नासाथ वहाँले आफ्नो तथा केही अन्य गाँउले समेत ५ जनाको जग्गा गरि ३५ रोपनी भन्दा बढी अमला बिसाउनेको डाँडो तथा पाखो जमिन लक्षबहादुर गुरूङको घरमै बसि २०२२ कार्तिकमा नेपाली आदर्श बिद्यालयको नाममा दानपत्र गरिदिए ।
जमिन प्राप्त भएपछि सानो मेनेजिङ बोर्डको गठन गर्नुभयो । जसमा सभापतिको रूपमा आफै लक्षबहादुर गुरूङ रहनु भयो भने, उपसभापतिमा चन्द्रसिह घले, सेक्रेटरीमा भूपी शेरचन, सदस्यमा ब्यापारीको तर्फबाट त्रैलोक्यमान श्रेष्ठ, स्थानीय बुद्धिजीविबाट पण्डित मुक्तिनाथ शर्मा, स्थानीय पञ्चायतबाट प्रधानपञ्च मानबहादुर खत्री, स्थानीय कार्यकर्ताबाट कृष्णबहादुर भण्डारी, जग्गादाताको तर्फबाट तोरणबहादुर खत्री क्षेत्री तथा युएमएनका प्रतिनिधि सदस्य राखियो ।
म्यानेजिङ कमिटी तथा युएमएनका प्रतिनिधीलाई जग्गा निरिक्षण गराउने क्रममा जोनाथन लिण्डेल तथा हवार्ड बार्क्लेले सो जमिन बिद्यालयको लागी उपयुक्त नभएको भनिए पछि वहाँहरूले नै सुझाएको हालको जमिनको लागी कुरा गर्न अनुरोध गरियो ।
काजीको खोर भनिने हालको जमिन पनि खरदार तोरणबहादुर खत्री क्षत्री तथा वहाँका आफन्त सुब्बा रणबहादुर खत्री क्षत्री, बेल खत्री क्षत्री, बिचारी रणबहादुर खत्री क्षत्री, ओमबहादुर खत्री क्षत्री र क्षेत्रबहादुर खत्री क्षत्रीको जमिनमा नै बिद्यालय शुरूवात गर्ने सहमती भयो । जसका लागी राजेश्वर देवकोटाको पहलमा श्री ५ को सरकारका तर्फबाट रू २०,००० सहयोग प्राप्त भयो । बिद्यालय सञ्चालनको लागी यसका साथै स्थानीयको जनश्रमदानबाट छाप्रोहरू बनाइ २०२३ जेठ २९ गते राजा महेन्द्रको शुभजन्मोत्सवको अवसर पारेर बिद्यालय समुद्घाटन भयो । समुद्घाटन अगाडी बिद्यार्थी भर्नाको लागी पनि निकै कठिनाइ भएको थियो । तर पनि पोखरा र पोखरा वरपरका गरि करिव ४५ बिद्यार्थी भर्ना गर्न सफल भए । यि बिद्यार्थी बिद्यालयको छात्रावासमा बस्नु पर्ने थियो । यसको साथै बाटुलेचौर गाँउ पञ्चायतका १२ बिद्यार्थीलाई भने छात्रावासमा बस्न नपर्ने तथा अन्य शुल्कमा पनि केही छुटको ब्यबस्था गरिएको थियो । यसरी शुभारम्भ भएको बिद्यालयमा प्रधानाध्यापकको रूपमा गोरखा आँप पिपल, जनता मिडिल स्कुलका शिक्षिका मार्था मुखियालाई पोखरामा बोलाइ नेपाली आदर्श बिद्यालयको प्रथम प्रधानाध्यापक (प्राचार्य) बनाइयो । यसका साथै बेलायतबाट बोलाइएका कलिन स्मिथ (Colin Smith), मिस पाट मेवी (Pat Mabey), भोजराज मरहठ्टा, राजकुमार श्रेष्ठ, सुवजित तामाङहरूले शुरूवातमा पढाउन थाले । यसको केही समयमा नै मिस डेविस, शान्ती इसाक सुब्बा, कृष्ण (भक्त) बहादुर थापा, प्रेमबहादुर थापा तथा राजकुमार श्रेष्ठकी श्रीमतीले पनि पढाउन थाल्नु भयो ।
त्यो बेलाको शुरूवाती दिनमा निकै कठिनाइ थियो । तसर्थ समय समयमा बिद्यार्थीहरू घट्ने बढ्ने भइ नै रह्यो । यसका साथै बिद्यार्थीहरूबाट कहिले काँही जायज वा नाजायज मागहरू पनि हुन्थे । जसले कुनै बेला बिकराल रूपसम्म लिए ।
२०२४ सालतिर आउनु भएका शान्ति सर बिद्यार्थी बिच छिट्टै नै निकै प्यारा भए । वहाँ पढाइको साथ साथ अन्य मनोरञ्जन गराउने गर्नुहुन्थ्यो । छुट्टीको बेला बिद्यार्थीलाई लिएर याम्दीमा पौडी खेल्न लैजाने, हरेक साँझ भए पछि हाउस हाउसमा गएर बिद्यार्थीहरूलाई कथा सुनाउने गर्दथे । बिद्यार्थीलाई साथी झै ब्यबहार गर्ने शिक्षक शान्ति सरका केही गतिविधी प्राचार्य जोनाथन लिण्डेललाई सुनाइदिए । मार्था मुखियाले बोलाएको हुँदा खर्साङबाट आएका शान्ति ईसाक सुब्बालाई बिद्यार्थीहरु छुट्टीमा घर गएको मौका पारी बिद्यालय प्रशासनले निस्काशन गरिदिए । त्यसै त खाना खानु अगाडी प्रे गर्नुपरेकोमा रिसाईरहेका बिद्यार्थीहरु छुट्टी पछि बिद्यालय आउँदा आफ्नो प्रिय शिक्षक शान्ति सरलाई बिना कारण निस्काशन गरेको थाहा पाएपछि प्राचार्यको कार्यकक्षमा पुगे । तर प्राचार्यले बिद्यार्थीहरुले शिक्षक, कर्मचारी तथा आफैलाई समेत आक्रमण गर्न आएको भन्दै तुरन्त बिद्यालय बन्द गराई सबै बिद्यार्थीलाई घर पठाई दिए ।
यसरी घर फर्काइएका कतिपय बिद्यार्थीहरु पून बिद्यालय फर्कन मानेनन् । कतिपय अविभावकले नै पठाएनन् । घर फर्केका बिद्यार्थीहरुले आफ्ना अविभावकहरुलाई शान्तिसरलाई निस्काशन गरेको कारण मात्र सुनाएनन् । अन्य कारणहरु पनि सुनाएका थिए । जस्तो मार्था मिसले चौरमा हिड्नु पर्दा सारीमा लागेको कुडो (घाँसको बीज) बच्चाहरूलाई निकाल्न लगाउने, घाँस उखेल्न लगाउने, आफ्नो खाएको भाँडा माझ्नुपर्ने, ठूला ठूला पकाउने भाँडाहरू समेत पालो पालो माझ्न लगाउने, बिहान उठ्नासाथ, खाना खानु अगाडी, राती सुत्नु अगाडी पनि प्रार्थना गर्न लगाउने जस्ता ब्यबहारिक कुराहरु पनि सुनाएका थिए । जुन कतिपय अविभावकले सहजतामा लिए भने केही धनाध्य अविभावकले आफ्नो छोराहरुले दुख पाएको भनेर बिद्यालय पठाउन मानेनन् ।
यसको साथै बिद्यालयको पुस्तकालयमा क्रिस्चियन धर्म सम्बन्धी कितावहरू तथा त्यहि आधारका कथाका किताबहरूमात्र राखिएका थिए । हिन्दुका कुनै पनि किताव राखिएको थिएन । बर्षातमा एक पटक बाँस राखेर बनाइएको सौचालयको बाँस कुहिएर भाच्चिए पछि माथी राखिएको छपनी ढुङ्गा भित्र खस्दा बिद्यार्थीलाई नै सौचालय भित्र पसेर छपनी ढुङ्गा निकाल्न लगाइएको थियो । यि र यस्तै सबै कुरा छुट्टीमा घर पुगेपछि अभिवावकलाई सुनाइए पछि धेरै बिद्यार्थी फेरी बिद्यालय फर्केर गएनन् । प्रशासनले यस किसिमको कार्य नगर्ने नगराउने भनिए पनि कति अभिवावकले आफ्ना छोराहरुलाई बिद्यालय पठाए भने कतिले पठाएनन् । यसपछि २०२७ मा फेरी एउटा बिबाद नै भयो । मिस लाला टर्नरको कक्षा बिद्यार्थीहरूले पढ्न मानेनन् । उनको कक्षा बिद्यार्थीले नपढे पछि निकै बिबाद भयो । मिस टर्नर साइनिङ हस्पिटलको डाक्टर रोनाल्ड टर्नरको श्रीमती हुनुहुन्थ्यो, त्यतिबेला साइनिङ हस्पिटलको बोलवाला थियो । तुरून्तै कारवाही गर्न खोजिएको थियो, बिद्यार्थीहरू चुपचाप बसे । त्यस्तैमा कलिन सर फेरी बिद्यालयमा पढाउन आउनु भएको थियो । वहाँले पढाउन लाग्दा बिद्यार्थीले फेरी बिरोध गरे । तर केही लागेन, पछि बिद्यार्थीले शान्ति सर मार्फत प्रिन्सिपललाई मनाउन कोशिस गरे । तर उल्टै कलिन सरले शान्ति सरले नै बिद्यार्थीलाई भड्काएको कुरा प्रिन्सिपल समक्ष पु्र्याए । बिद्यार्थीका प्रिय शिक्षक शान्ति सरलाई बिद्यालय प्रशासनले हटायो, यो कुरा पनि बिद्यार्थीलाई चित्त बुझेन । यसपछि त बिद्यार्थी झन् उग्र भए, जसले गर्दा बिद्यार्थीहरुलाई बिद्यालय प्रशासनले निस्काशन गर्यो । त्यसरी नै अंग्रेजी माध्यमबाट पढाउनु भन्ने शिक्षा मन्त्रालयबाट पत्र पठाइएको थियो तर सो पत्र साइनिङ हस्पिटलले बिद्यालय प्रशासनलाई हस्तान्तरण पनि गरेन । उनिहरूको उद्देश्य बिद्यार्थीलाई पढाउनुको साथ साथ नेपाली पनि सिक्नु थियो । बिभिन्न देशबाट आएका भोलेन्टियरलाई छोटो अवधिको शिक्षक बनाउने नेपाली सिकाउने यहि उद्देश्य थियो । यसरी बिभिन्न कारणले बिद्यार्थी र बिद्यालय प्रशासन बिच बिबादहरू भइरहे ।
एक समय बिद्यालयमा बिद्यार्थीहरुले हातैले लेखेर उपहार पत्रिका निकालिएको थियो । पछि लिण्डेल सरले हातले लेखेर सकिदैन भनेर लिथो मेशिन उपलब्ध गराइ लिथोबाट पत्रिका निकाल्ने कार्य पनि भयो । त्यो समुहमा महेन्द्र द्वा, बालमुकुन्द तुलाचन तथा तिर्थ श्रेष्ठको सक्रियता थियो । त्यहि बेला बालमुकुन्द तुलाचनले "दुइ काँडामा अल्झेको जीवन" नामक उपन्यास लेख्नुभएको थियो । यसरी बिद्यार्थीहरूमा पढाइ भन्दा बाहिर पनि क्रियाकलापहरू भएका थिए ।
यता बिद्यार्थी र बिद्यालय प्रशासन बिच बिबाद भए पनि बिद्यालयको बिकासका पूर्वाधारहरू भने बन्द भएका थिएनन् । बिद्यालय स्थापनाको दुइ वर्षमा नै पक्की भवन बन्ने शुरूवात भयो । २०२५ मा १०० रोपनी जग्गा खरिद गर्न सक्षम भयो । सार्वजनिक रूपम रहेको बिद्यालय भित्रको सडकलाई बिद्यालयको नाममा राखियो र सार्वजनिक बाटोको बिकल्प अर्को बाटो बनाइयो । २०२८ मा बिभिन्न विवादका कारण बिद्यार्थीहरुले बिद्यालय छोडेका कारण केवल दुई बिद्यार्थी गगन गुरूङ र पूर्णलाल कायष्थ मात्र एसएलसीमा सम्मिलित भएको थियो । तर २०२९ मा नयाँ शिक्षा लागु हुनु र नयाँ शिक्षा अन्तर्गत माध्यामिक कक्षाको स्विकृती प्राप्त नहुँदा २०२९ र २०३० सालमा कुनै पनि बिद्यार्थी एसएलसीमा सहभागी हुन नपाउँदा आफ्नो पायकको बिद्यालयमा स्थानान्तरण गराउन बाध्य भयो । २०३० सालमा माध्यामिक कक्षाको अनुमति प्राप्त भएपछि आठ कक्षा पुन सुचारू भयो । जुन बिद्यार्थीहरुले २०३२ सालमा एसएलसी दिए । यसरी सम्मिलित भएका १२ बिद्यार्थीहरुमा ६ जना प्रथम श्रेणी ३ जना दोश्रो श्रेणीमा र २ जना तेश्रो श्रेणीमा उतिर्ण भए । तर एक बिद्यार्थी भने उतिर्ण हुन सकेन ।
यसरी निकै आरोह अवरोह झेलेको नेपाली आदर्श बिद्यालयको नाम परिवर्तन गर्ने निर्णय भयो । २०३५ कार्तिक २४ गते प्रिन्सिपल ब्रायन उडको कार्यकालमा नेपाली आदर्श बिद्यालयको नाम परिवर्तन भएर गण्डकी आवासिय माध्यामिक बिद्यालय भयो । नाम परिवर्तन संगै स्वामित्व पनि परिवर्तन भयो । २०३७ सालमा युनाइटेड मिशन टु नेपालबाट सञ्चालित यस बिद्यालयलाई नेपाल सरकारमा हस्तान्तरण गरियो । नेपाल सरकारको मातहतमा आए पछि पुन नेपाल सरकारले क्षेत्रिय बिद्यालयको अवधारणा ल्याए पछि २०४१ चैत्र १५ मा डेबिड बाम्बाकलाई प्रिन्सिपल नियुक्त गरि पहिलो क्षेत्रिय बिद्यालयको रुपमा बिकास गर्न थालिएको थियो । साथै यसै वर्षबाट सहशिक्षा अन्तर्गत छात्राहरूको भर्ना र अंग्रेजी माध्यमबाट पढाइ सञ्चालनको थालनी समेत गरेको थियो ।
यसरी समय समयमा आएका बिभिन्न समस्याहरूसंग जुझ्दै बिभिन्न भौतिक पूर्वाधारहरू थप्दै आज यो बिद्यालय नेपालको उत्कृष्ट बिद्यालयहरूको सूचीमा पर्न सफल भएको यस विद्यालय अझै उत्कृष्ट बिद्यालय बन्न सफलता प्राप्त गरुन भन्ने कामना गर्न चाहन्छु ।
उलकको फेसबुकबाट
३० जेठ २०८२, बिहिबार ०१:०८ मा प्रकाशित