असारदेखि नदीजन्य पदार्थको उत्खननमा रोक

भ्वाइस अफ गण्डकी

पोखरा । 

कास्कीमा असारदेखि नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन र संकलन कार्यमा रोक लगाइएको छ । जिल्ला अनुगमन समितिको बिहीबारको बैठकले यस्तो निर्णय गरेको हो । ढुंगा, गिट्टी, बालुवाको उत्खनन, बिक्री र व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ को कानुनी व्यवस्थाअनुसार यो निर्णय गरिएको हो । उक्त व्यवस्थाअनुसार असार, साउन र भदौ महिनामा उत्खनन र संकलन कार्य गर्न नपाइने उल्लेख छ । 

यो निर्णयलाई कडाइका साथ कार्यान्वयन गरिने र अवज्ञा गरेमा कानुनअनुसार कडा कारबाही गरिने जिल्ला समन्वय समिति कास्कीका प्रमुखसमेत रहेका समितिका संयोजक लीलाधर पौडेलले बताए । पौडेलले यो कार्यमा संलग्न व्यवसायी, आपूर्तिकर्ता र सरोकारवालासहित आम जनसमुदायलाई सचेत रहँदै निर्णयको कार्यान्वयन र मापदण्डको पालना गर्न आग्रह गरेका छन् । 

बैठकले नदीजन्य पदार्थको मौज्दात आर्थिक वर्षको अन्त्यसम्म शून्य गर्नुपर्ने र त्यसो हुन नसकेमा बाँकी मौज्दात सम्बन्धित पालिकाले जफत गरी लिलामी गर्ने कानुनी व्यवस्थालाई कडाइका साथ लागु गर्न कास्कीका सबै पालिकालाई अनुरोध गरेको छ ।

जिल्ला समन्वय अधिकारी नवराज बरालले सञ्चालनमा रहेका खानी, क्रसर र प्रशोधन उद्योगले असार मसान्तभित्र आफ्नो उत्पादनको वार्षिक मौज्दात र खरिद–बिक्रीको परिमाण सार्वजनिक गरी सम्बन्धित पालिका र अनुगमन समितिलाई जानकारी दिनुपर्ने व्यवस्थालाई कडाइका साथ अनुगमन गरिने बताए ।


प्रतिक्रिया