१२ औं गोरखा महोत्सव सुरु: राजस्वको दायरा बढाउन व्यवसायीसँग समन्वय गरिने

भ्वाइस अफ गण्डकी

गोरखा ।  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले १२ औं गोरखा महोत्सव एवं प्रदेश स्तरीय कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला २०८२ को सोमबार उद्घाटन गरेका छन्। महोत्सवको उद्घाटन गर्दै उनले सरकारी साधन स्रोत कम हुँदा नागरिकको अपेक्षा एकै पटक पूरा गर्न नसकिएको बताए। समग्र लगानी बढाउन सरकारले राजस्वको दायरा बढाउनुपर्ने र यसका लागि उद्योगी तथा व्यवसायीसँग समन्वय आवश्यक रहेको उनले उल्लेख गरे।

संघ र स्थानीय सरकारबिच गर्नुपर्ने समन्वय र सहकार्यका लागि प्रदेश सरकार तयार रहेको मुख्यमन्त्री पाण्डेले बताए। प्रदेश सरकारले बनाएका नीति, नियम वा कानुनले व्यापार व्यवसायमा कुनै अप्ठ्यारो सिर्जना गरेको भए प्रदेश सरकारले सहजीकरण गर्ने उनले प्रष्ट पारे। उनले जिल्ला स्तरमै व्यावसायिक अवसरहरू सिर्जना गर्दै स्थानीय सम्भावनाको खोजी गर्न सबैलाई अनुरोध गरे।

प्रदेश सरकारले विकास निर्माणका कामलाई प्राथमिकताका आधारमा निरन्तरता दिइरहेको उनले जानकारी दिए। पाण्डेले कृषि र पशुपालन जस्ता उत्पादनमूलक कार्यक्रममा जोडिन युवा उद्यमी र किसानहरूलाई आग्रह गरे। गोरखामा पर्यटनको ठूलो सम्भावना रहेको उल्लेख गर्दै उनले पर्यटकको बसाइ लम्ब्याउने योजना बनाउनेतर्फ ध्यान दिनुपर्ने बताए।

प्रतिक्रिया