पोखरा ।
कास्कीको मादीमा शनिबार अन्तर्राष्ट्रिय स्तरको पर्वतीय दौड हुँदै छ । पोखरा अल्ट्रा रेसको आयोजनामा प्रतियोगिता हुन लागेको हो । दौडमा मादी गाउँपालिकाले समन्वय गरेको छ ।
प्रतियोगितामा १३ देशका १०५ जना धावक सहभागी हुँदै छन् । आयोजकका अनुसार दौडमा नेपालसहित फ्रान्स, स्विट्जरल्यान्ड, बेलायत, थाइल्यान्ड, चीन, आइसल्यान्ड, जापान, भारत, म्यानमार र अमेरिकाका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । दौड १००, ५५ र ३० किलोमिटर गरी तीन विधामा हुनेछ ।
धावकहरूले मादीका पर्यटकीय गाउँहरू छिचोल्नेछन् । दौडको रुट सिक्लेस, ताङ्तिङ, पार्चे, खिलाङ र याङ्जाकोट हुँदै ३ हजार २०० मिटर उचाइको कृपु डाँडासम्म पुग्नेछ । दौड निर्देशक जितेश प्रधानले सहभागीले मादीको प्राकृतिक सुन्दरता अनुभव गर्ने बताए । उनका अनुसार खेलाडीले हरियाली डाँडाकाँडा, हिमाल, झरना र स्थानीय संस्कृति नजिकबाट नियाल्न पाउनेछन् ।
प्रतियोगिताका विजेताले हङकङमा हुने अन्तर्राष्ट्रिय दौडमा भाग लिन पाउनेछन् । साथै उनीहरूलाई नगद र प्रमाणपत्र प्रदान गरिनेछ । आयोजक संस्था पोखरा अल्ट्रा ट्रेल रेसले सन् २०१७ देखि यस्तो दौड सञ्चालन गर्दै आएको छ । संस्थाले हालसम्म आठवटा दौड सम्पन्न गरिसकेको छ । यसले ऐतिहासिक पदमार्ग संरक्षणमा पनि योगदान गरेको जनाइएको छ ।
मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले प्रतियोगिताले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए । उनले यसबाट स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे । मादीलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन कार्यक्रम फलदायी हुने उनको भनाइ छ । अध्यक्ष गुरुङले तयारीका लागि स्थानीय युवा क्लब, सुरक्षा निकाय र स्वास्थ्यकर्मी परिचालन गरिएको जानकारी दिए ।
१३ मङ्सिर २०८२, शुक्रबार ०५:५८ मा प्रकाशित