पोखरा । पोखरामा शनिबार सम्पन्न मनोविमर्शकर्ताहरूको प्रथम राष्ट्रिय भेलाले विजय शरण आचार्यको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । भेलाले मनोसामाजिक परामर्शको क्षेत्रलाई व्यवस्थित गर्न ८ बुँदे 'पोखरा घोषणापत्र–२०८२' समेत जारी गरेको छ ।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कर्णाली प्रदेशका शेरबहादुर कुमाल र उपाध्यक्षमा मधेस प्रदेशकी वनिता कार्की चयन भएका छन् । महासचिवको जिम्मेवारी गण्डकी प्रदेशका सुदीप घिमिरेले पाएका छन् ।
समितिको सचिवमा लुम्बिनीका सुमन धिमाल र गण्डकीकी बसन्ती खत्री चयन भए । कोषाध्यक्षमा लुम्बिनीकी लक्ष्मी ढकाल चुनिएकी छन् । त्यस्तै, सदस्यहरूमा सन्दिपा तिमिल्सिना (कर्णाली), अमृता जिसी (लुम्बिनी), सन्जु खड्का (मधेस), जानकी बिष्ट (सुदूरपश्चिम), जुनु श्रेष्ठ (गण्डकी) र मनकुमारी थापा (बागमती) रहेका छन् ।
साझा अभियानको मुख्य आयोजनामा भएको भेलाले जारी गरेको घोषणापत्रमा नेपाल सरकार मातहत रहने गरी 'मनोसामाजिक तथा मानसिक स्वास्थ्य परिषद' गठनको माग गरिएको छ । उक्त परिषदले नियमन, अनुगमन तथा प्रमाणीकरणको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ ।
भेलाले नेपाल सरकार र सामी परियोजनाले मनोविमर्शकर्ताको विज्ञापन र नियुक्तिमा गर्ने विभेद अन्त्य गर्नुपर्ने, विज्ञापनमा सिटिइभिटीको पाठ्यक्रमअनुसार ७ सय ८० घण्टाको तालिम प्राप्त व्यक्तिलाई मान्यता दिनुपर्ने र विद्यमान सञ्चालन निर्देशिका परिमार्जन गर्नुपर्ने माग अघि सारेको छ ।
राष्ट्रिय मानव अधिकार आयोग गण्डकीकी प्रमुख नीतु गर्तौलाको प्रमुख आतिथ्यमा भएको भेलामा सातै प्रदेशका ५० जनाभन्दा बढी मनोविमर्शकर्ता र मनोविद्को सहभागिता थियो । नवनिर्वाचित समितिले घोषणापत्र कार्यान्वयनका लागि सरकार र सरोकारवाला निकायसँग पहल गर्ने जनाएको छ ।
२८ मङ्सिर २०८२, शनिवार ०९:४८ मा प्रकाशित